आज सार्क स्थापना दिवस, सदस्य राष्ट्रबीच सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं २३ मंसीर । आज दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क स्थापना दिवस मनाइदैछ । ३१ वर्ष अगाडी स्थापित यस संगठनले दक्षिण एशियाली मुलुकको साझा हित पहिल्याउने र विकास र समृद्धिको दिशामा काम गर्ने उद्देश्य राखेको छ ।
सन् १९८५ मा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान रहेकामा ९ वर्षअघि अफगानिस्तान थपिएको हो । यसमा आठ सदस्यसँंगै नौ पर्यवेक्षकमा चीन, अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मौरिसस, इरान, म्यानमार र युरोपेली महासंघ (इयू) छन् ।
समान सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, आन्तरिक मामिला, दखल नदिने प्रतिवद्धता सबैप्रकारको समस्याको शान्तिपूर्ण समाधानमा विश्वास संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित बुँदामा अडेर सार्क स्थापना भएको हो । तर, सार्कले यसलाई आत्मसात गर्न नसकेको विज्ञहरुको टिप्पणी रहेको छ ।
३१ औं वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य राष्ट्रबीच बृहत्तर सहयोग अपरिहार्य भएको बतायनु भएको छ । दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने प्रधानमन्त्री प्रचण्डले सन्देश उल्लेख गर्नु भएको छ ।
सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका नागरिकको विकासका आकांक्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाएका छन् । तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एशियामा गरिबी निवारण, शान्ति प्राप्ति, स्थायित्व र समृद्धि भएको उल्लेख गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको बताउनुभयो ।
सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ भन्दै उनले गरिबी, आतंकवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन यस क्षेत्रको साझा चुनौती रहेको उल्लेख गरिएको छ । सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य रहेकामा उहाँको जोड छ ।
सार्कका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटुट प्रतिबद्धता दोर्होयाउँदै प्रधानमन्त्रीले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बन्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।










