नन्द भेट्न गएकी महिलाको हत्या

भेरी खवर सम्वाददाता
मंसिर १४ जाजरकोट । जाजरकोटमा एक महिलाको हत्या भएको छ। दशेरा–१ निवासी ५२ वर्षीेया श्यामा सिंहको हत्या भएको हो।
जाजरकोट मजकोट–६ मा रहेकी नन्द भीमसरा शाहीको घरमा गएकी श्यामाको शव जाजरकोट र दैलेखको सिमाना भैरीलेक नजिकै दैलेखको जगनाथ–५ स्थित ओडारमा ढुङ्गाले पुरिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ।
नन्दको घरबाट गत मंसिर ८ मा नै आफ्नो घर जाने भनेर फर्किएकी उनी घर नपुगेपछि खोजी गर्दा मृत फेला परेको दैलेखका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भुवनेश्वर शाहले जानकारी दिए। ‘उनको बायाँ टाउकोमा चोट देखिन्छ, घटनाको प्रकृति हेर्दा अन्यत्रै हत्या गरेर ओडारमा लिएर राखेको पाइयो। घटनाको अनुसन्धान अधिकृतको रुपमा खटिएका प्रहरी निरीक्षक शाहले भने।’
पुरानो रिसिईवी साँध्न हत्या भएको प्रहरीको आशंका छ। उनले जाजरकोट र दैलेख दुवै पट्टीका प्रहरी परिचालन गरेर घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिए। घटना स्थल दुवै जिल्लाका प्रहरी पोष्टबाट करिव ४ ,५ घण्टाको दूरीमा पर्छ ।
घटना स्थल दैलेखको सिमानामा पर्ने भएकोले दैलेख प्रहरीले अनुसन्धान गरिरहेको र जाजरकोट प्रहरीले पनि थप सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुवास भट्टले बताए।
मृतकका पति भक्तु सिंहले आफ्नी कान्छी बहिनी अर्थात मृतककी नन्दको घरमा गएकी श्रीमती शनिवारसम्म पनि नफर्किएपछि सोधी खोजी गर्दा भाउजु मंसिर ८ गते नै फर्किसकेको बहिनीले बताएपछि खोजी गर्दै जाँदा जंगलको ओडारमा हत्या गरेर ढुंगाले थिचेर राखेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरिएको जानकारी दिए।



