‘क्षमा पुजा’ को विषयमा बौद्ध घ्याङ्ग गुठी र बौद्धनाथ क्षेत्र विकास समितिवीच विवाद

दुई सय बर्षदेखिको धार्मिक परम्परा संकटमा

काठमाडौं – दुईसय बर्ष अघिदेखि काठमाडौंको बौद्धनाथ स्तुपमा धार्मिक पुजा र नित्य कर्म गर्दे आएको ‘बौद्ध घ्याङ्ग गुठी’ले आयोजना गर्नुपर्ने प्राण प्रतिष्ठा पूजामा बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षेप गरेको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले ‘प्राण प्रतिष्ठा पुजा’ आयोजना गरेको भन्दै गुठी संस्थानले आपत्ति जनाएको छ । उक्त निर्णय सच्याउन संस्थानले भूमिसुधार मन्त्रालयलाई पत्राचार गरेको छ ।

२०७२ सालको महाभूकम्पपछि जिर्णोदार गरिएको स्तुपामा आगामी मंसिर ३,४ र ५ र ७ गते मिङमपा, गलुक, काग्यु, शाक्य, बज्रायन र थोरवादी गरी सबै सम्प्रदायका धर्म गुरुहरुको उपस्थितिमा यस्तो पुजा हुन लागेको हो ।ghyang-guthi-7-23-2073

पुनर्निमाणपछि हुन लागेको प्रतिष्ठा पूजा गर्ने सम्पूर्ण दायित्व बौद्ध घ्याङ्ग गुठीको भएपनि बिना परामर्श बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षेप गरेको गुठी संस्थानले जनाएको छ । ‘बौद्ध घ्याङ्ग गुठी’ गुठी संस्थान मातहत रहेको छ । समितिले एकलौटी निर्णय गर्नु धार्मिक पुजामाथिको हस्तक्षेप भएको संस्थानको दाबी छ ।

क्षेत्र विकास समितिले पुजाको कार्यक्रम तय गरेपनि बौद्ध घ्याङ्ग गुठीलाई आयोजकमा समेत नराखेको स्थानीयको भनाई छ । उनीहरुले यसले आफुहरुको प्रतिष्ठा र पहिचानको धरोहर घ्याङ्ग गुठीको धार्मिक आस्थामाथि हस्तक्षेप भएको बताएका छन् ।

बौद्धका स्थानीय पेम्बा लामाले भूकम्पबाट भत्किएको बौद्धनाथ स्तुपको पुननिर्माणको काम क्षेत्र विकास समितिको भएपनि पुजाआजा गर्ने सबै काम बौद्ध घ्याङ्ग गुठीको भएको दावी गरे । उनले भने,‘पुननिर्माण भयो, राम्रो काम हो, तर क्षेत्र विकास समितिले गुठीको परम्परालाई वेवास्था गर्दै धार्मिक हस्तक्षेप गर्ने काम ठीक भएन, यो निर्णय सच्याउनु पर्छ ।’

उनले अगाडि थपे, ‘सबै निकाय नियम–कानुन अनुसार चल्नु पर्छ, अधिकार क्षेत्र नाघ्ने काम कसैले गर्नु हुँदैन । विगतदेखिको परम्परा भत्काउने कामले समाजमा राम्रो सन्देश जादैन । हामी प्राण प्रतिष्ठा पुजाको विरोधी होइनौं, तर क्षेत्र विकास समितिले विधि र विधान विपरीत पुजा आयोजना गरेकोप्रति मात्र आपति जनाएका हौं ।’

बौद्धनाथ स्तुपामा गुठी संस्थानबाट नियुक्ती पाएका चिनियाँ लामाले पुजापाठ गर्दै आएका छन् । बौद्धनाथ स्तुप घ्याङ्ग गुठी, गुठी संस्थानको राजगुठी अन्तर्गत रहेको छ । बौद्धनाथ स्तुपमा हुने पुजाको सञ्चालन र व्यवस्थापन लामो समयदेखि बौद्ध घ्याङ्ग गुठीले गर्दै आएको थियो ।

धार्मिक संस्कार र परम्परादेखि नै पुजाआजा गर्दै आएको घ्याङ्ग गुठीको पुजामा क्षेत्र विकास समितिले हस्तक्षेप गर्दा नराम्रो सन्देश जाने भएको भन्दै स्थानीवासीले निर्णय सच्याउन माग गरेका छन् ।

त्यस्तै बौद्ध घ्याङ्ग गुठीले क्षेत्र विकास समितिको निर्णयप्रति आपत्ति जनाउदै गुठी संस्थानमा निर्णय सच्याउन र कानुन विपरीत काम गर्नेलाई कारवाही गर्न माग गरेको छ ।ghyang-guthi-7-23-2073

गुठी संस्थानका प्रशासक नारायण चौधरीले बौद्ध घ्याङ्ग गुठी, गुठी संस्थानको राजगुठी अन्तर्गत रहकाले त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा गुठी संस्थानबाट नियुक्त पाएका चिनियाँ लामाले गर्नु पर्ने बताए । उनले पर्यटन मन्त्रालयबाट विकास समिति अन्तर्गत गठित बौद्धनाथ क्षेत्र विकास समितिले अनधिकतृ रुपमा हस्तक्षेप गरेको बताए ।

उनले भने, ‘घ्याङ्ग गुठीको धार्मिक कार्य र पुजा अर्चनामा हस्तक्षेप गरी लगातार व्यवधान खडा गरेको हुँदा उक्त कार्य रोक्नको लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पत्राचार गरेका छौं ।’
बौद्धनाथ क्षेत्र विकास समितिले पुजा आयोजना गरेकोप्रति भूमिसुधार तथा व्यवस्था मन्त्रालयले पनि चासो राखेको छ । पर्यटन मन्त्रालयलाई उक्त निर्णय सच्याएर बौद्ध घ्याङ्ग गुठीलाई पुजाआजा गर्ने व्यवस्था गर्न पत्रचार गरेको छ ।

मन्त्रालयका उप–सचिव अर्जुनराज पन्तले हस्ताक्षर गरेको पत्रमा पर्यटन मन्त्रालयबाट विकास समिति ऐन अन्तर्गत गठित बौद्धनाथ क्षेत्र विकास समितिले अनाधिकृत रुपमा हस्तक्षेप गरेको कुरा उल्लेख गरिएको छ ।

कानुन मिचेर क्षेत्र विकास समितिले पूजाको आयोजना गर्दा पनि उक्त निर्णय सच्याउन निर्देशन दिनु पर्नेमा पर्यटन मन्त्रालयले उल्टै आलटाल गर्दै आएको भूमिसुधार मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भूमि सुधार मन्त्रालयले क्षेत्र विकास समितिले कानुन मिचेको स्पष्ट उल्लेख गरेर पर्यटन मन्त्रालयलाई पत्राचार गर्दा पनि सो सम्बन्धमा विकास समितिलाई पर्यटन मन्त्रालयले निर्देशन नगरी वेवास्था गरेको छ ।

बौद्धका स्थानीय नोर्बु लामाले भने, ‘पशुपतिमा मुल भट्टको स्थानमा आएर कसैले पुजा गर्न खोज्यो भने के हुन्छ ? क्षेत्र विकास समितिले पनि सीमा नाघेर पुजाको आयोजना गरेको छ यो निर्णय सच्याउनु पर्छ ।’

बौद्ध घ्याङ्ग गुठीसँग सहकार्य गरेर पुजाको आयोजना गर्नुपर्नेमा क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा र कार्यकारी निर्देशक फुबुयाङजी लामाले नियोजित रुपमा नै गुठीको परम्परामाथि प्रहार गरेको उनले आरोप लगाए ।

यो विषयमा विकास समितिका पदाधिकारीहरुको भनाई आउँन वाँकी छ ।

आफ्नो मुद्दामा आफै न्यायाधीश !

पर्यटन मन्त्रालयका पुरातत्व अधिकृत जयन्ती श्रेष्ठ (प्रधान) मन्त्रालयको तर्फबाट बौद्धनाथ क्षेत्र विकास समितिको पदेन सदस्य समेत हुन । भूमिसुधार मन्त्रालयको पत्र अनुसार पुजा रोक्न निर्देशन दिनुपर्ने भएपनि श्रेष्ठद्धारा बौद्धनाथ क्षेत्र विकास समितिलाई लेखिएको पत्रमा भनिएको छ, ‘गुठीको निवेदन परेको हुँदा सो सम्बन्धमा के भएको हो यथार्य विवरण यथाशिघ्र यस मन्त्रालयमा उपलब्ध गराइदिनु हुन निर्देशनुसार अनुरोध छ ।’ghyang-guthi-7-28-2073

श्रेष्ठले आफै पदेन सदस्य भएको संस्थालाई आफ्नो अधिकारको अनुचित प्रयोग गरी पत्राचार गरेको सिमितिलाई लेखेको पत्रबाट खुलेको छ ।

विधानत कुनै पनि मन्त्रालयले पदेन रुपमा प्रतिनिधित्व गराउने व्यक्तिलाई सो सम्बन्धी कार्य सम्पादन गर्ने जिम्मेवारी दिन मिल्दैन । तर श्रेष्ठ सो प्रावधान विपरीत आफै पदेन सदस्य क्षेत्र विकास समितिलाई पत्राचार गरेर गैरजिम्मेवार काम गरेको मन्त्रालयका एक अधिकारीले रातोपाटीलाई बताए ।

क्षेत्र विकास समितिले पुरातात्विक क्षेत्रको पुननिर्माण, मर्मत सम्र्भार लगायतको काम गर्ने अधिकार भएपनि गुठीले आयोजना गर्ने पुजामा सिधै हस्तक्षप गर्न नमिल्ने जानकार बताउँछन् । बौद्धनाथ क्षेत्र विकास समिति पर्यटन मन्त्रालबाट २०५३ सालमा विकास समिति ऐन अन्तर्गत गठन भएको थियो ।

अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

भुकम्पको कारण डेढ बर्षअघि भत्किएको बौद्धनाथ स्तुप जिर्णोद्धारको क्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले आर्थिक अनियमितता गरेको भन्दै बौद्धवासीले कारवाही गर्नु माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । हाल उक्त मुद्धामाथि छानबिन भईरहेको अख्तियार स्रोतले जनाएको छ ।

लामाले बौद्धनाथ स्तुप जिर्णोद्धारको क्रममा मापदण्ड विपरीत संरचना जिर्णोद्धार गरेको भन्दै पर्यटन मन्त्रालय तथा पुरातत्व विभागले छानविन कार्यदल गठन गरेको थियो ।

जिम्मेवार कर्मचारीसँग मिलोमेता गरी मन्त्रालयबाट समेत सोही प्रकरणमा मुछिएका व्यक्तिहरु सम्मिलीत सदस्य राखेर छानबिन कार्यादल गठन गरेकोप्रति स्थानीयले कडा आपत्ति जनाएका छन् ।

कानुनत क्षेत्र विकास समितिका अध्यक्ष लामा र कार्यकारी निर्देशक फुबुयाङजी लामा उपर नै अनियमितताको उजुरी परेकोमा सो उजुरी छानबिन गर्ने कार्यदलमा कार्यकारी निर्देशकलाई सदस्य सचिवको रुपमा जिम्मेवारी दिनुले कार्यदलको कामप्रति निष्पक्षता नहुने प्रश्न उठेको छ ।

त्यस्तै निर्माणको क्रममा अनियमितता भएको भन्दै छानबिनका लागी बौद्धका ११ जना स्थानीयले गुठी संस्थानमा उजुरी दिएका छन् । बौद्धनाथ स्तुप निर्माणको क्रममा चाइनाको बानहुबान भन्ने भिक्षुको अस्तु स्तुप माथि राखेको र करोडौ नेपालीहरुको आस्थाको केन्द्रमाथि खेलवाड गरिएको उनीहरुको आरोप छ ।

स्तुप निर्माणको लागि क्षेत्र विकास समितका अध्यक्ष लामाले तिब्बती लामा ताईसितु रेम्पोर्छेबाट २०औैं करोड सहयोग लिएपनि सार्वजनिक नगरेको आरोप लागेको छ । ताई सेतु रेम्पोर्छे तिब्बतियन विवादित धर्म गुरु हुन् ।





error: Content is protected !!