डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

हेमन्त केसी
सुर्खेत, ८ असोज ः डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ। जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन्।
नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए।
जुफाल विमानस्थल सिताए यरका जुफाल स्टेसन म्यानेजर मुकुन्द पाैडेलले अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको बताए। जहाज धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सकुशल रहेको बताइन्। जहाजको प्राविधिक जाँच तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले जानकारी दिए।
जहाजमा पाङ्ग्रासम्बन्धी समस्या देखिए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।









