सल्यानका चार पालिकामा आलु प्रवर्द्धन कार्यक्रम

सल्यान ः कृषि विकास कार्यालयले व्यावसायिक खेती विस्तार गर्न चार पालिकामा आलु प्रवर्द्धन कार्यक्रम लागू गरेको छ । बाग्चौर, वन्गाड कुपिण्डे नगरपालिका, दार्मा र छत्रेश्वरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको हो । आलु खेती विस्तार गर्न कार्यालयले चार पालिकाका ६ वटा व्यक्तिगत फर्म, तीन समुह र चार सहकारीलाई छनोट गरेको छ ।

कार्यक्रमअन्तर्गत समूह, सहकारी आबद्ध किसान र व्यक्तिगत फर्मले २५ हेक्टरमा आलु खेती विस्तार गर्नेछन् । आलु खेतीबाट एक सय बढी किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । खेती विस्तार गरेर किसानको आयस्तर बढाउन आलु प्रवर्द्धन कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख महेश आचार्यले बताए ।

समूह, सहकारीमा आबद्ध किसान र फर्मलाई आलु खेतीमा सहयोग पुग्ने मिनी टिलरलगायत कृषि औजार, ड्रम उपलब्ध गराउने, सिँचाइका लागि कुलो बनाउने, प्राविधिक सहयोग गर्ने र आलु उत्पादनसम्बन्धी तालिम दिने उनले जानकारी गराए ।

जिल्लास्थित बन्गाड कुपिण्डे–१२ निगालचुला र वाग्चौर–११ र १२ को बाफुखोला वर्षेआलु उत्पादनका लागि प्रख्यात छन् । जिल्लाका सबै पालिकामा हिउँदे आलु उत्पादन हुन्छ । गत वर्ष जिल्लामा १ अर्ब ७१ करोड रुपैयाँको ५२ हजार ३ सय मेट्रिक टन आलु उत्पादन भएको थियो ।

‘जसमध्ये २९ करोडको आलु जिल्लाबाहिर बिक्री भएको थियो,’ उनले भने, ‘पछिल्नो समयमा व्यावसायिक आलु खेती गरेर जिल्लाभरिका किसानले राम्रो आम्दानी गर्दै आएका छन् ।’

जिल्लाका सबै पालिकामा २ हजार ७ सय ५ हेक्टर वर्षे र १ हजार ७ सय ३० हिउँदे गरी ४ हजार ४ सय ३५ हेक्टरमा किसानले आलु खेती गर्दै आएको उनको भनाइ छ ।





error: Content is protected !!