कर्णालीका नेकपाबाट ‘जेलब्रेकर’देखि डाक्टरसम्म उम्मेदवार

सुर्खेत ः प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ ।

नेकपाबाट उम्मेदवारी दर्ताका लागि रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख–१ मा अम्मरबहादुर थापा, दैलेख–२ मा योगेन्द्रबहादुर शाही, सुर्खेत–१ मा जीतबहादुर राना, सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पामा धनबहादुर बुढाले टिकट पाएका छन् ।

यस्तै हुम्लामा डा ,दीपेन्द्र रोकाया, कालिकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्ति बस्नेत, सल्यानमा रमेश मल्ल र मुगुमा चन्द्रबहादुर शाहीलाई नेकपाले उम्मेदवार बनाएको छ ।

टिकट पाएकामध्ये तीन जना साविक एकीकृत समाजवादीतर्फका नेता छन् भने बाँकी ९ जना साविक माओवादीतर्फका । ‘हेभीवेट’ नेता मानिएका सल्यानका प्रकाश ज्वालाले यो पटक टिकट पाउन सकेनन् । साविकको एकीकृत समाजवादी पृष्ठभूमिका नेताले दैलेख–१, मुगु र डोल्पामा उम्मेदवारी पाएका छन् । नेकपाले प्रत्यक्षतर्फ कर्णालीबाट एक जना पनि महिलालाई टिकट दिएको छैन ।

चार जनाबाहेक सबै परीक्षण भइसकेका उम्मेदवार

नेकपाले टिकट दिएका अधिकांश उम्मेदवार यसअघि पटक–पटक परीक्षण भइसकेका छन् । सुर्खेतका दुई क्षेत्र, सल्यान र हुम्लामा मात्रै नयाँ अनुहारले पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवारी दिन लागेका हुन् । त्यस बाहेकका उम्मेदवार कोही प्रदेश सभातिर, कोही पटक–पटक प्रतिनिधि सभामा उम्मेदवार बनिसकेका छन् ।

गठबन्धनमा तालमेलका कारण सुर्खेतमा ०७४ / ०७९ को चुनावमा माओवादीले उम्मेदवारी दिन पाएको थिएन । यो पटक विभिन्न घटकसँग पार्टी एकता गरी नेकपा गठन भएसँगै सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा तत्कालीन जनमुक्ति सेनाका लडाकुलाई अघि सारिएको छ ।

सल्यानबाट प्रकाश ज्वालाले ०७९ को चुनावमा आफ्ना प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए । मल्ललाई उनको सहयोगबिच सल्यानमा चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ ।
सुर्खेत–१ मा उम्मेदवार बनेका जीतबहादुर राना ०४७ मा मालेको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५८ सालमा माओवादीमा प्रवेश गरेका उनी अवलचिङको जनसरकार प्रमुख भए । त्यसपछि सैन्य ब्युरो सदस्य हुँदै उनी जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएका थिए । उनी यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज समेत हुन् ।

सुर्खेत–२ कालागि टिकट पाएका झकबहादुर मल्ल ‘सुदीप’ साविकको माओवादी केन्द्रका सुर्खेत जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । उनी सशस्त्र युद्धका बेला सुर्खेत ‘जेलब्रेक’का कमान्डर हुन् ।

सानै उमेरमा पूर्णकालीन माओवादी भएर थुप्रै युद्ध लडेका मल्लले युद्धकै क्रममा आफ्नो जीवनसाथी गुमाएका थिए ।

युवामाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् ।

सल्यानमा टिकट पाएका रमेश मल्ल पनि युवाबिच लोकप्रिय नै छन् । उनी लामो समय माओवादी अध्यक्ष प्रचण्डको स्वकीय रहे ।

सल्यानबाट प्रकाश ज्वालाले ०७९ को चुनावमा आफ्ना प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए । मल्ललाई उनको सहयोगबिच सल्यानमा चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ ।

हुम्लाका डा। दीपेन्द्र रोकाया पहिलो पटक संसदीय राजनीतिमा जाने दाउमा छन् । कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहिसकेका उनले कर्णालीको प्रथम पञ्चवर्षीय गुरुयोजना तयार पारेका थिए । युद्धकालका युद्धपत्रकार समेत रहेका उनी ०७९ मै प्रतिनिधि सभा चुनाव लड्न चाहन्थे । तर, पार्टी केन्द्रले छिरिङ डम्डुल लामालाई उम्मेदवार बनाएको थियो ।

कालिकोटमा पुनः महेन्द्र, डोल्पादेखि दैलेखसम्म पुरानै अनुहार

कालिकोटमा सुरुमा प्रचण्ड चुनाव लड्ने भनेर उनको नाम एकल सिफारिस गरियो । तर, प्रचण्ड रुकुम पूर्व जाने भएपछि ११ जना आकाङ्क्षी देखिएका थिए । अन्तिममा महेन्द्रबहादुर शाहीलाई नै नेकपाले उम्मेदवार बनाएको छ । शान्ति प्रक्रियापछि कालिकोटमा माओवादीले नै लगातार चुनाव जित्दै आएको छ ।

अहिले उम्मेदवार बनेका शाही यसअघि ०७० र ०७९ मा प्रतिनिधि सभा र ०७४ मा प्रदेश सभा चुनाव जितेर परीक्षण भइसकेका नेता हुन् ।

०७० मा शाहीले १० हजार ८४ मतसहित चुनाव जितेका थिए । ०७४ मा उनी प्रदेशमा झर्दा माओवादीबाट दुर्ग बहादुर रावत प्रतिनिधि सभातर्फ उम्मेदवार बने । रावतले त्यो बेला २१ हजार ११२ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत ल्याए । उक्त चुनावमा माओवादी–एमाले संयुक्त गठबन्धन थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो ।

०७९ मा माओवादीबाट उम्मेदवार बनेका शाहीले २३ हजार ७२७ मत ल्याएर चुनाव जिते । उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत पाए । कर्णालीको मुख्यमन्त्री समेत भइसकेका महेन्द्रबहादुर शाही साविकको माओवादीभित्र प्रभावशाली नेता मानिन्थे । पार्टी एकतापछि नेकपा गठन हुँदा शाहीले नै आफ्नो प्रभाव क्षेत्रमा फेरि एक पटक उम्मेदवार हुने मौका पाएका हुन् ।

डोल्पामा टिकट पाएका धनबहादुर बुढा ०७९ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा जितेका नेता हुन् । उनी केन्द्रमै मन्त्रीसमेत भइसकेका र डोल्पामा प्रभाव राख्ने नेता हुन् ।

रुकुम पश्चिममा उम्मेदवार बनेका गोपाल शर्मा ०७४ मा प्रदेश सभा सदस्य बनेका थिए । उनी कर्णालीको अर्थमन्त्री समेत बने । उनी पहिलो पटक आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’ सँगै प्रतिनिधि सभा चुनाव लड्दै छन् । रुकुम पश्चिममा प्रभाकर बलिया छन् । उनी अहिले नयाँ राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० गठन गरेर सोही पार्टीबाट चुनावी मैदानमा छन् । राजनीतिक गुरु–चेलाबिच चुनावी प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।

दैलेख–१ मा अम्मरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । ०७९ को प्रतिनिधि सभा चुनावमा १८ हजार २५६ मत ल्याएर निर्वाचित भएका थापा लामो समय एमालेको जिल्ला कमिटीको नेतृत्वमा थिए । एमाले विभाजनपछि उनी माधव नेपालको एकीकृत समाजवादीतिर लागे । त्यसअघि उनी पटक–पटक चुनाव लडिसकेका छन् । ०७४ मा एमालेबाट प्रदेश सभा चुनाव जितेका उनी नेकपा उत्कर्षको वेला एमालेको निर्णयविरुद्ध ‘फ्लोरक्रस’ गरेर चर्चामा आएका नेता हुन् । यो क्षेत्रमा उनले पुनः आफ्नै पूर्व सहकर्मीहरू एमालेका रविन्द्रराज शर्मा र रास्वपाका एनके बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन् ।

०७९ मा माओवादीले आफ्नो विरासत गुमायो । सुरुमा भण्डारीले नै टिकट पाउने भनेर उनी चुनावी अभियानमै सरिक भइसकेका थिए । तर, पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी केन्द्रले गोमा गौतम ‘कुँवर’लाई उम्मेदवार बनायो । उनलाई राप्रपाका ज्ञानबहादुर शाही९ज्ञानेन्द्र०ले झन्डै दोब्बर मतान्तरले पराजित गरे, जबकि गोमालाई नेपाली कांग्रेसको समेत साथ थियो ।
यस्तै दैलेख–२ मा उम्मेदवार बनेका योगेन्द्र शाही यसअघि ०७९ मा प्रदेश सभा चुनावमा पराजित भएका थिए । बौद्धिक वर्गमा परिचित शाही पराजित भए पनि कर्णालीका तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माका पालामा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष बनेका थिए । दैलेख–२ मा माओवादीको कमजोर संगठन भएको क्षेत्र भए पनि प्रदेश सभा चुनावमा झिनो मतान्तरले पराजित भएका थिए ।

जुम्लामा उम्मेदवार बनेका नरेश भण्डारी कर्णालीको माओवादीभित्र बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्चरका रूपमा चिनिन्छन् । उनकै नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका ठुला विकासे आयोजना अघि बढेका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ सालमा भण्डारीले जुम्लाबाट २१ हजार १२७ मतसहित संविधान सभा निर्वाचन जितेका थिए । ०७० मा माओवादीबाट गजेन्द्र महत कांग्रेसका ललितजंग शाहीसँग पराजित भए । ०७४ मा माओवादीले पुनः गजेन्द्रलाई टिकट दियो । भण्डारी प्रदेशतर्फ झरे । भण्डारी प्रदेशको कानुनमन्त्री समेत बने । एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका महतले त्यतिबेला २२ हजार १७३ मतसहित चुनाव जिते । कांग्रेसका देवेन्द्र बहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए ।

०७९ मा माओवादीले आफ्नो विरासत गुमायो । सुरुमा भण्डारीले नै टिकट पाउने भनेर उनी चुनावी अभियानमै सरिक भइसकेका थिए । तर, पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी केन्द्रले गोमा गौतम ‘कुँवर’लाई उम्मेदवार बनायो । उनलाई राप्रपाका ज्ञानबहादुर शाही ज्ञानेन्द्ले झन्डै दोब्बर मतान्तरले पराजित गरे, जबकि गोमालाई नेपाली कांग्रेसको समेत साथ थियो ।

शाहीले २२ हजार ८१९ मत पाउँदा गोमाले ११ हजार ९५९ मत पाइन् । गुमेको साख फर्काउन अहिले प्रचण्डले भण्डारीलाई अघि सारेका छन् ।

मुगुका उम्मेदवार बनेका चन्द्रबहादुर शाहीको राजनीतिक पृष्ठभूमि एमाले हो । ०७४ मा प्रदेश सभा सदस्य रहेका उनी नेकपा विभाजनका बेला एकीकृत समाजवादीतिर लागे । त्यसपछि उनी कर्णालीका कृषिमन्त्री समेत भए ।

जाजरकोटमा पुनः शक्तिलाई टिकट दिएपछि लफडा

जाजरकोटमा पुनः शक्ति बस्नेतलाई नै टिकट दिएपछि लफडा भएको छ । ०७४ सालदेखि निरन्तर चुनाव लड्दै, जित्दै आएका बस्नेतले सुरुमा जिल्लाका नेता, कार्यकर्तासँग यो पटक चुनाव नलड्ने भनेका थिए । यद्यपि ठुलो नेता भनेर सम्मानार्थ उनकोसमेत नाम राखेर गणेशप्रसाद सिंह, रामदीप आचार्य लगायतका नेताहरूको नाम सिफारिस गरिएको थियो ।

तर अन्तिममा प्रचण्डले बस्नेतलाई नै पाँचौँ पटक टिकट दिएपछि गणेशप्रसाद सिंहले असहमति राख्दै पार्टी नै परित्याग गरेका छन् । उनले आइतबार प्रचण्डलाई असहमतिपत्र बुझाउँदै पार्टी छाडेको जानकारी गराएका छन् ।

अर्का नेता रामदीप आचार्यले सोमबार सामाजिक सञ्जालमा १० बुँदे असन्तुष्टि पोखेका छन् । जाजरकोट माओवादीको बलियो प्रभाव भएको जिल्ला हो ।

कर्णालीमा कति छ नेकपाको शक्ति 

०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिम, जाजरकोट, कालिकोट र हुम्ला गरी चार ठाउँमा साविक माओवादीले जितेको थियो । यस्तै, सल्यान, दैलेख–१ र डोल्पामा साविक समाजवादीले जितेको थियो । त्यो वेला कांग्रेस–माओवादी र एकीकृत समाजवादीबिच गठबन्धन थियो । माओवादी र समाजवादीले ७ सिटमा जित निकाल्दा कांग्रेसले ४ सिट जितेको थियो भने एमाले शून्यमा सीमित भएको थियो ।

०७४ पछि कर्णालीमा माओवादीले गठबन्धनविना चुनाव लडेको छैन । अहिले समाजवादी र माओवादीसहित मिलेर बनेको नेकपाले जनताको विश्वास कति जित्छ भन्ने हेर्न बाँकी छ ।

०७९ को स्थानीय तहको निर्वाचनमा वडामा पाएको मतलाई गणना गर्दा साविक समाजवादीले ३१ हजार १४ र साविक माओवादीले १ लाख ५५ हजार ८४९ मत पाएको थियो । कांग्रेसले २ लाख १० हजार र एमालेले २ लाख मत पाएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!