प्रदेश सरकारले बजेट नदिँदा जाजरकोटको ठाँटीचौर सौर्य मिनिग्रेट बन्द

जाजरकोट ः जाजरकोटको कुशे गाउँपालिका–८ ठाँटीचौर सौर्य मिनिग्रेट आयोजनाको १० प्रतिशत रकम प्रदेश सरकारले नदिँदा विद्युत सेवा बन्द भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सहमति दिएपनि हाल सम्मा उक्त आयोजना रकम उपलब्ध नहुँदा विद्युत सेवा अवरुद्ध बनाएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले कुल आयोजनाको ९० प्रतिशत भुक्तान गरिसकेको भएपनि प्रदेश सरकारले उपलब्ध गराउने १० प्रतिशत नदिदा विद्युत सेवा बन्द गरिएको छ । ८५ किलोवाट क्षमताको उक्त सौर्य मिनिग्रेट आयोजनालाई प्रदेश सरकारले १० प्रतिशत रकम दिने मन्त्री स्तरिय निर्णय भएको थियो ।
५४ लाख ५७ हजार ७२५ रुपैयाँ मात्र प्रदेश सरकारले रकम भुक्तानी गर्नुपर्ने रहेको थियो । सनशाइन पिक पावर (जाजरकोट जेबी ) ले काम गरेको रकम नपाएको भन्दै बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रमा पत्राचार गरेपछि विद्युत सेवा अवरुद्ध भएको हो । पटक ,पटक रकम माग गर्दा पनि भुक्तान नभएपछि विद्युत सेवा अवरुद्ध गर्नुपरेको केन्द्रले लेखेको पत्रमा उल्लेख रहेको छ । आयोजना निर्माण कार्य पुरा भई सञ्चालनमा आउदा समेत प्रदेश सरकारले रकम भुक्तानी नगर्दा अहिले रकम माग गर्दै विद्युत सेवा बन्द भएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाहलाई वडाध्यक्ष सहित एक प्रतिनिधि मण्डल आएर रकमको व्यवस्था गर्न आग्रह गरेको छ । नियमित बजेटमा उक्त रकम विनियोजन गर्नुपर्नेमा आयोजनाले फाइल मन्त्रालयमा बुझाउदा समेत रकम बिनियोजन नगर्दा समस्या आएको छ । कुशे गाउँपालिकाले मन्त्रालयलाई बजेट व्यवस्थापन गर्न पत्राचार समेत गरेको छ । मन्त्री शाहले अहिले कुनै शीर्षक नभएकाले बजेट कसरी व्यवस्थापन गर्ने भन्दै समस्याबाट उम्किन खोजेको छन् । उनले अर्को वर्षको बजेटमा व्यवस्थापन गर्ने भन्दै जिल्ला कार्यालयमा गएर निवेदन दिन समेत आग्रह गरे ।
मन्त्रालयले आफैले दिने भनेको रकम उपलब्ध नगराएर फेरी अर्को वर्ष भुक्तानी गर्ने भनेपछि थप समस्या चलिएको छ । मन्त्रालयका सचिव यज्ञ पुरीसँग सम्पर्क गर्दा बुझेर जवाफ दिने बताए । विद्युत सेवा अवरुद्ध हुँदा यहाँका सयौँ घरका स्थानीयबासीहरु समस्यामा परेका छन् । निर्माण कम्पनीले रकम नपाउँदा सम्मा विद्युत सेवा अवरुद्ध पारिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बजेटका विषयमा छलफल चलिरहेको बताए । पालिकाले दिन्छु भनेर सहमति गरेर पनि रकम नदिदा समस्या भएको उनले बताए । पालिकाले प्रदेश सरकारसँग सम्झौता गरेर पत्र समेत प्राप्त गरेको रहेछ उनले भने । निर्माण व्यवसायी साथीहरुले आफूहरु मर्कामा परेको भन्दै बन्द गरेको उनले बताए । दशैँ ,तिहारमा नै निर्माण व्यवसायी साथीहरुले विद्युत सेवा अवरुद्ध गर्छु भनि आफूलाई जानकारी गराएपनि आफूले मानवीय हिसावले पनि त्यो गर्नु राम्रो नभएको भनि रोखेको ढकालले बताए । हाल आएर रकम जती आग्रह गर्दा पनि नदिएपछि विद्युत सेवा कम्पनीले बन्द गरेको उनले बताए ।
पूर्व उर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत सूचारु गर्ने विषयमा पहल गरिएको बताए । केन्द्र तथा मन्त्रीसँग कुरा भएको छ , छिटै समस्याको समाधान खोजिने समेत उनले बताए । कुशे गाउँपालिकाले गरेको आग्रहलाई प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने सहमति गरेपनि उक्त रकम पालिकालाई नदिदा पालिकाले रकम भुक्तानी नगरेको पाइएको छ । पालिकाले आफूसँग बजेट नभएको हाल उपलब्ध नगराएको अवस्था रहेको छ । केन्द्रले लेखेको पत्रमा पाँच करोड ४५ लाख ७७ हजार २५१ रुपैया मध्य ५४ लाख ५७ हजार ७२५ रुपैयाँ पालिकाले व्यहोर्ने पत्रमा उल्लेख रहेको छ । यत्ता कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कामरेडहरुले अत्यचार गरेका कारण बजेट नदिएको स्टाटसमा लेखेका छन् । यद्यपी मिनिग्रेटमा रकम उपलब्ध गराउने भन्दै कुशे गाउँपालिकाले सम्झौता गरेको छ ।







