भेट्नै गाह्रो रारा र कर्णालीमा असला

सुर्खेत ः मुगुको छायानाथ नगरपालिकास्थित माझघट्टका ५९ वर्षीय दानबहादुर रोकायालाई डेढ दशकअघिसम्म रारातालका असला माछा मार्न भ्याइनभ्याइ हुन्थ्यो । उनी रारातालको माछा सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहरमा पठाउँथे । ‘राराका असला भनेपछि सबै हुरुक्कै,’ उनले भने, ‘हाम्रा बुवाहरुले त राजाका दरबारसम्म असला माछा पठाउनुहुन्थ्यो ।’

माझघट्टकै ५७ वर्षीय बलिभद्र रोकायाले पनि रारातालका असला माछा मारेर झन्डै तीन दशक बिताए । ‘चिसो पानीको माछा भएकाले स्वादिलो, स्वास्थ्यवर्द्धक र अर्गानिक,’ उनले भने, ‘ताजा माछा गमगढी बजारमै सकिन्थ्यो, सुकाएको माछा दैनिकजसो १०/१५ किलो सहरतिर पठाउँथे ।’

रारा राष्ट्रिय निकुञ्जले माछाको संख्या घट्दै गएको भन्दै २०७० सालदेखि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा माछा मार्न प्रतिबन्ध लगायो । त्यसअघिसम्म राराताल आसपासका बासिन्दाको आम्दानीको मुख्य स्रोत माछा नै भएको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । ‘१० वर्षअघिसम्म रारामा असला माछा लस्करै देखिन्थे,’ उनले भने, ‘माछाका कारण रारातालको सौन्दर्यसमेत बढेको छ, तर असलाजस्ता रैथाने माछा देख्नै मुस्किल भयो ।’

जलवायु परिवर्तनको असर र मानवीय गतिविधिले तापक्रम बढ्दै जानु, वर्षा कम हुनु, पानीमा तापक्रम फेरबदल भइरहनुलगायत कारणले रारामा असला माछा घट्दै गएको रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए । ‘माछाले अहिले आहाराको जोखिम खेप्नुपरेको छ,’ उनले भने, ‘तापक्रम र प्रदूषण बढ्दा पनि माछाहरु घटिरहेका हुन् ।’ दुई वर्षअघि निकुञ्जले विभिन्न संस्थाहरुको सहयोगमा गरेको अनुसन्धानमा रारा तालमा तीन प्रकारका असला माछा पाइने गरेको भेटिएको थियो । नेपालमा भने पाँच प्रकारका असला माछा पाइन्छन् । रारामा कालो, सेतो र थेप्चे प्रजातिका असला माछा पाइने निकुञ्जका सूचना अधिकारी धर्मजित साउदले बताए । ‘२०३५ सालअघि निकुञ्ज नबन्दासम्म राराताल नजिकैको छाप्रुमहादेवमा बाक्लो बस्ती थियो, गाउँ वरपर लगाइएको जग्गामा गहुँ जौं, चिनो, कागुनोलगायत अन्नबाली र फलफूलको उत्पादन प्रशस्त हुन्थ्यो,’ उनले भने, ‘वर्षाको समयमा बगेर तालमा आउँदा माछाको लागि पर्याप्त आहारा हुन्थ्यो, जलजन्य आहारा प्रजाति पनि घटेपछि असलाका लागि पर्याप्त आहारा पाइन छाड्यो, जसले माछाको वृद्धिविकासमा असर पुग्यो ।’

पछिल्लो समय रारामा आएका पर्यटक, बटुवा, स्थानीयवासी र होटेल व्यवसायीका कारण पनि रारा क्षेत्र फोहोर बन्दै गएको छ । रारामा भौतिक पूर्वाधार निर्माणका काम हुँदा पनि पर्यावरण बिग्रिएको सूचना अधिकारी साउदले बताए । ‘पूर्वाधार निर्माण गर्दा प्रयोग हुने सिमेन्ट, स्टिल, डिजेलजस्ता हानिकारक वस्तु तालमा पर्दा पनि माछा घटिरहेको पाइयो,’ उनले भने, ‘फोहोरको असर पनि माछाको प्रजनन प्रक्रियामा देखिएको छ ।’ २०७४ सालमा त्रिभुवन विश्वविद्यालयबाट खटिएको माछा विशेषज्ञको टोलीले पनि राराका माछाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानले आहाराको कमीका कारण असला माछामा छिप्रे टाटेपाटे रोग देखापरेको भेटिएको थियो । जसका कारण माछाको मृत्युदर बढेको अनुसन्धानमा देखिएको थियो ।

त्यस्तै, २०४० सालमा जापानको विश्वविद्यालयबाट आएको टोलीले रारातालका असला माछाको अध्ययन गरी आसपासका क्षेत्रमा पालनको सम्भावनाबारे अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा सहयोगीको भूमिका निर्वाह गरेका पशु प्राविधिक गोविन्द मल्लका अनुसार उक्त टोली असला माछा पालनको अनुसन्धानमा भने सफल भएन । उक्त टोलीले तालमा ११ किलोसम्मका माछा पाइने गरेको पुष्टि गरेको थियो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुविकास अधिकृत डा। अनुप श्रेष्ठका अनुसार अहिलेसम्म असला माछा पालनको प्रविधि विकास भएको छैन । ‘यसको अंग्रेजी नाम स्नो ट्राउट हो, यसको हुर्काइ, बढाइ र प्रजनन क्षमता पनि ट्राउट माछाको जस्तै हुन्छ,’ उनले भने, ‘हिउँ पग्लिएर आएको चिसो पानीमा पाइने यो माछाले बगिरहने पानी मन पराउँछ, अहिले त रैथाने माछामा मिचाहा पानीजन्य प्राणीहरुले पनि असर पुर्‍याइरहेका छन्, मिचाहाकै कारण विभिन्न रोगको प्रकोप पनि फैलिरहेको छ ।’

उनका अनुसार रारा तालसहित कर्णाली र भेरी नदीमा पनि असला माछा पाइन्छ । तर माछाको संख्या घट्दै गइरहेको छ । असला माछाका लागि १२ देखि १५ डिग्री सेन्टिग्रेडसम्मको हावापानी उपयुक्त मानिएको छ । स्थानीयका अनुसार कर्णाली र भेरीमा पाइने असला माछा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुन्छ भने अन्य जातका माछा ५ देखि ८ सय रुपैयाँ प्रतिकिलोमा बेच्ने गरिएको छ । ‘असला त मुस्किलले भेटिन्छन्, अरु माछा पनि घट्दै गए,’ जुम्लाको तिला कर्णालीमा माछा मार्ने व्यवसाय गरिरहेका तातोपानी(४ का प्रेमबहादुर विकले भने, ‘सुकाएको असला माछा प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गरिरहेका छौं ।’ उनका अनुसार नदीमा माछाको संख्या घटेपछि माछा मारेरै जीविकोपार्जन गरिरहेका झन्डै तीन दर्जन परिवार पलायन भएका छन् ।

एक दशकअघिसम्म मुगु कर्णाली नदीमा दिनमा २० किलोसम्म माछा मार्ने गरेका सोरु गाउँपालिका–४ भादगाउँका दानबहादुर बुढाले अहिले ५ किलो माछा पाउन पनि दिनभरि लाग्ने गरेको गुनासो गरे । उनका अनुसार कर्णालीमा माछाको संख्या घटे पनि मूल्य भने बढिरहेको छ । १० वर्षअघिसम्म प्रतिकिलो १ सय ५० रुपैयाँमा पाइने माछा अहिले कर्णाली नदी किनारमै ६ सयदेखि ८ सय रुपैयाँमा बिक्री हुने गरेको छ । सुकाएको माछाको मूल्य ३ देखि ५ हजार रुपैयाँमा किनबेच हुने उनले बताए ।

असला माछा समुद्र सतहदेखि १ हजार ८ सयदेखि ३ हजार मिटरको उच्च गतिमा बहने र हिउँ पग्लेर बनेको पानीमा पाइने सरिसृपविज्ञ लक्ष्मण शर्माले बताए । ‘पोखरीमा हुने माछाभन्दा असला माछा अर्गानिक, आकर्षक र बढी स्वास्थ्यवर्द्धक मानिन्छ, असला माछाबाट भरपुर ओमेगा थ्री फ्याट्टी एसिड प्राप्त हुन्छ,’ उनले भने, ‘पोखरीको पानी सर्कुलेसन हुँदैन, त्यसैले असला माछा पोखरीमा पाल्ने प्रविधिको अहिलेसम्म विकास भएको छैन ।’

पछिल्लो समय खोला र नदीमा लगाइने ठूला उपकरण र मानवीय चहलपहलले राता तालसहित कर्णाली र भेरी नदीको चिसो पानीमा पाइने असला माछाको संख्या घटेको उनले बताए । ‘यो फिरन्ते स्वभावको माछा हो, जुन एकै ठाउँमा बसिरहँदैन,’ उनले भने, ‘बग्दै गएर फुल फुट्दै भुरा निस्किँदै जान्छन्, तर हुर्काइको वातावरण नबन्दा ती भुराले माछा बन्न पाउँदैनन्, जसले संख्या घटिरहेको छ, असला लोप हुने अवस्थामा पुगेको छ ।





error: Content is protected !!