कर्णालीबाट सुरु भयो गठबन्धनमा संकट, कांग्रेसको भूमिका ठीक नरहेको एमालेको निष्कर्ष

सुर्खेत ः कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसको भूमिकाप्रति नेकपा एमालेले असन्तुष्टि जनाएको छ । बिहीबार बसेको एमाले प्रदेशसभा संसदीय दलको बैठकबाट कांग्रेसले गठबन्धन संस्कृति अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारबारे कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही चर्को आलोचनामा उत्रन थालेपछि एमाले असन्तुष्ट बनेको हो । दुई दलबीच सत्ता सहकार्य भएको एक वर्ष बितिसक्दासमेत कर्णालीमा यी दलबीच समधुर सम्बन्ध छैन । कांग्रेस संसदीय दलका नेता शाहीले सार्वजनिक रूपमा सरकार छोड्ने धम्की दिने गरेको, सरकारका काममा लगातार असहयोग गर्ने गरेको एमालेको बुझाई छ ।

कांग्रेसले कँडेल नेतृत्वको सरकारमा आर्थिक मामिलासहित चार मन्त्रालयले लिएको छ । एमाले प्रमुख सचेतक टेकराज पछाईले कांग्रेसको भूमिकाबारे बैठकमा व्यापक छलफल भएको बताए । ‘बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भयो, कांग्रेसको जे भूमिका हुनुपर्थ्यो, त्यो भूमिका चाहिँ भएन भन्ने निष्कर्ष रह्यो’, पछाईले भने ।

कर्णाली प्रदेश सरकारको प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यले तयार गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन हुन नदिने अभिव्यक्ति दिइरहेको, महत्त्वपूर्ण राजनीतिक नियुक्तिमा सहमति नदिएको, सरकारमा सहभागी मन्त्रीहरू नै सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्ने गरेको, सामान्य विषयमा समेत कांग्रेस सांसदहरूले सदनका कामकारबाहीमा अवरोध पुर्‍याउने गरेको भन्दै एमाले असन्तुष्ट छ । एमाले सचेतक पछाईले कांग्रेस अहिले सरकारको सहयात्रीभन्दा पनि ‘प्रतिपक्ष’जस्तो देखिएको बताए ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले गठबन्धन भएको एक वर्षमा तीनपटक सरकार छोड्ने चेतावनी दिइसकेका छन् । शाही गठबन्धन दलको नेता भए पनि व्यवहार भने प्रतिपक्षको गरिरहेको आरोप उनीमाथि छ ।





error: Content is protected !!