तीन जिल्लाका भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तिब्र

जाजरकोट ः जाजरकोटको रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेर भत्किएका सरकारी संरचना निर्माण कार्य सुरु भएको छ ।
आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) जाजरकोटले जिल्लाका ३३ वटा सरकारी कार्यालयहरु निर्माण गर्न लागेको कार्यालय प्रमुख खडगबहादुर चौधरीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१÷८२ मा २३ वटा भवनको ठेक्का भएकोमा काम १७ वटाको भएको थियो । यो आर्थिक वर्षमा ९ वटा कार्यालयको काम सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा अधिकांश काम सुरु गर्ने भनिएपनि केही योजनाहरु संशोधन गर्नुपर्ने भएकाले ढिला भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख चौधरीले भन्नुभयो ,‘ चालु आवमा बाँकी ९ वटाको काम सुरु हुने छ । साउन महिना भित्र प्राविद्यिक कुराहरु मिलाउदैछौँ । केही भवनहरु निर्माण भइसकेका योजनाहरुको संशोधनको काम पनि भएको छ । अघिल्लो वर्ष ठेक्का लगाएका भवनहरुको प्रगती समेत राम्रो रहेको छ ।’ थोरै जनशक्तिको बीचमा समेत काम जारी राखेको उहाँको भनाई रहेको छ । ‘अहिले जिल्ला अदालत , जाजरकोट दरबारको निर्माणका लागि जिल्लाबाट पठाएको विवरण संशोधन भएर आइसकेको छ , उहाँले भन्नुभयो । हामी यो चालु आवमा बाँकी कामहरु गर्ने छौँ ।’
चौधरीको भनाई रहेको छ । प्रदेश स्तरका कार्यालयहरु समेत भत्किएको पाइएको छ । प्रदेशका भवनहरु निर्माणको अवस्था के छ भनेर प्रदेश सरकारसँग सम्पर्क गर्ने काम भइरहेको उहाँको भनाई रहेको छ । यो कार्यालयले जाजरकोट , रुकुम पश्चिम र सल्यानमा रहेका सरकारी कार्यालय निर्माण गर्ने जिम्मेवारी पाएको छ । भूकम्पले भत्किएका भौतिक संरचनाका कारण सेवा दिन समस्या भइरहेको समयमा आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) जाजरकोटले कामलाई तिब्रता दिएपछि छिटो कार्यालय निर्माण हुने अपेक्षा गरिएको छ । सेवा लिन र दिनका लागि छिट्टै सहजता आउने भरोसा गरिएको छ ।



