सेक्रेटरी शाहीलाई गैरन्यायिक गिरफ्तारी गरेको भन्दै नेकपाको विरोध, शारीरिक र मानसिक यातना दिएको आरोप

जाजरकोट ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटले जिल्ला सेक्रेटरी बिराजन शाहीलाई “गैरन्यायिक गिरफ्तारी” गरेको भन्दै कडा विरोध जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले विरोध जनाएको हो ।
नेकपा जाजरकोटका जिल्ला इन्चार्ज केवी मल्लद्दारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यद्वारा सञ्चालित भ्रष्टाचार, दलाली र घुसखोरीको विरुद्ध निरन्तर संघर्ष गर्दै आएको पार्टीका नेता शाहीलाई “राजनीतिक पूर्वाग्रहका आधारमा” नलगाड नगरपालिका–१० बाट गिरफ्तार गरी झुटा मुद्दा लगाइएको दाबी गरिएको छ ।’
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखले पदको दुरुपयोग, अराजकता र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएकाले पार्टी निकट युवा संगठनद्वारा ‘चेतावनीस्वरूप कारबाही’ गरिएको थियो । यही घटनालाई लिएर राज्यसंयन्त्रले पार्टीमाथि दमन गर्ने प्रयास गरेको नेकपाको आरोप छ ।
पार्टीले हिरासतमा रहेका नेता शाहीमाथि मानसिक र शारीरिक यातना दिइएको, कानुनी परामर्श र परिवार भेटघाटबाट वञ्चित गराइएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक मान्यता र मानवअधिकारको गम्भीर उल्लंघन भनेको छ ।
नेकपाले जिल्लास्थित मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा अन्य राजनीतिक दलहरूलाई नेता शाहीको कानुनी तथा मानवअधिकार संरक्षणमा सक्रिय भूमिका खेल्न आह्वान गर्दै प्रहरीले यस्ता “गैरन्यायिक गतिविधि तत्काल बन्द गर्नुपर्ने” चेतावनी समेत दिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिराम डाँगीले भेटघाट भईरहेको र मानव अधिकार उल्लंघनको कुनै पनि कुरा नगरेको बताए ।
‘अहिले सम्म भेटघाट भईरहेको छ, उहाँलाई भेटन आईरहनु भएको छ, उनले भने, ‘हामीले कानुन बमोजिम काम गरिरहेका छौं, अदालत बाट म्याद थप भई अनुुसन्धान भईरहेको छ ।’










