विकास निर्माणको अनुगमणसँगै जनतासँग जाडिन अभियान सञ्चालन ः अध्यक्ष प्रचण्ड

जाजरकोट ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताउनुभयो। पार्टीलाई जनतासँग जोडने अभियानका रुपमा समेत यसलाई लिएको बताउनुभयो । माओवादीले अघि सारेका विकास निर्माणको अवस्था कस्तो छ भन्ने कुराको अनुगमण पनि रहेको उहाँको भनाई रहेको छ ।

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो। कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताउनुभयो। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्रश्नहरू सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो। “तपाईंहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्वपूर्ण छन्,” उहाँले भन्नुभयो, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ।”

उहाँले आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरु गरिएको बताउनुभयो। “मैले त्यतिबेला तत्कालै बजेट पनि छुट्याएको थिएँ,” उहाँले भन्नुभयो, “तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो। अहिले पुनःस्थापनाको काममा गति दिनुपर्छ भन्ने मागलाई म सरकारले ध्यानमा राख्न आग्रह गर्छु।” कम्युनिष्ट एकताको सन्दर्भ उठेकोमा अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताउनुभयो। “मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ,” उहाँले भन्नुभयो, “तर त्यो एकता किन टुट्यो? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन। हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।”

अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गर्नुभयो। “संविधान कार्यान्वयनका लागि म प्रधानमन्त्री हुँदा प्रदेश समन्वय बैठक बसेको थियो,” उहाँले भन्नुभयो, “कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक र उच्च शिक्षा सुधारका लागि तयारी गरिएको थियो, ती काम अघि बढ्नुपर्छ।” उहाँले यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको बताउनुभयो। “यो आत्मसमिक्षाको अभियान हो,” उहाँले भन्नुभयो, “अब हामी रुकुमतर्फ अघि बढ्दैछौं।”





error: Content is protected !!