बारेकोटको मैनागाउँमा पुग्यो एकघर , एक धारा

जाजरकोट ः जाजरकोटको बारेकोट गाउँपालिकाले एक घर , एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले बिभिन्न निकायसँगको सहकार्यमा पालिका भरी नै खानेपानी पुर्याउने लक्ष्य अनुसार काम तिब्र रुपमा अगाडी बढेको अध्यक्ष बीरबहादुर गिरीले बताउनुभयो ।
बारेकोट गाउँपालिका–४ मैना टोलका ११० घरधुरीलाई खानोपानीको सुविधा पुगेको अध्यक्ष गिरीले बताउनुभयो । करिव ६८ लाख रुपैयाँमा उक्त खानेपानी निर्माण भएको उहाँले बताउनुभयो । हेल्भेटास नेपालसँगको सहकार्यमा गाउँपालिकाले मैना गाउँमा सबै घरमा पिउने पानी पुर्याएको उहाँले बताउनुभयो । अध्यक्ष गिरीले भन्नुभयो ,‘ बारेकोट वडा नं ४ को मैना टोलका १ सय १० सबै घरमा पिउने पानीको सुबिधा पुगेको छ । एक घर एक धारा निर्माणको हाम्रो अभियान जारी छ । हाम्रो अभियानमा सहभागी सहयोगि तथा साझेदार सस्थाहरुमा हार्दिक आभार छ । वडा नम्वर १,२,५ र ७ मा अघिल्लो आर्थिक वर्ष नै ४६५ घरमा पिउने पानी पुगिसकेको थियो ।
घर ,घरमा पानीको धारा पुगेपछि स्थानीयबासीहरु खुसी भएको बताएका छन् । गाउँपालिकाले पालिका भित्रका सबै घरमा सफा पिउने पानी पुर्याउने लक्ष्यका साथ काम तिब्र बनाएको बताउनुभयो । घरमा पानीको धारा पुगेपछि स्थानीय लालमाया बस्नेतले भन्नुभयो ,‘ पिउने पानी ल्याउनका लागि डोकोमा गाग्री राखेर खोला पुग्नुपथ्यो । अहिले आंगनमै धारा पुगेपछि आफूहरु खुसी भएका छौँ । बच्चा,बच्चीहरुलाई पानी ल्याउन जादा बाटोमा लडने समस्य समेत हुने गरेको थियो । अहिले घरको आँगनमै पानीको धारा पुगेपछि पानी बोक्ने दुख हटेको छ । ’
भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटमा अहिले गाउँपालिकाले बिभिन्न निकायसँग साझेदारी गरेर काम गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष गिरीले भन्नुभयो ,‘ विकास साझेदार निकायलाई हामी बारेकोटमा स्वागत गर्दछौँ । हाम्रो पीडा ,दुखलाई शक्तिमा बदल्नका लागि हामीलाई सहयोग दिन अनुरोध गर्दछु । बारेकोट गाउँपालिकाबाट जुम्ला जोडने सडकको बीचमा रहेको मैना गाउँमा खानेपानी पुगेपछि स्थानीयबासीहरु खुसी मात्र भएका छैनन, शुद्ध पिउने पानी समेत पाएका छन् ।
गाउँको छेउँमै खानेपानी बगेपनि आर्थिक अभावका कारण गाउँलेहरुले पानी घर , घरमा धारा मार्फत ल्याउन सकेको अवस्था थिएन । गाउँपालिकाले गाउँका सबै घरमा धारा दिने निर्णय गरेपछि सजिलै गाउँमा पानी आएको वडाध्यक्ष विष्णु रावतले बताउनुभयो ।
अधिकांश क्षती समुदाय रहेको मैनामा जाजरकोट –जुम्ला सडकले समेत छोएको छ । गाउँपालिकाले अन्य वडाहरुमा समेत पानी पुर्याउनका लागि काम गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो ।



