नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा होइन ः प्रचण्ड

सुर्खेत , २९ माघ ः नेकपा ( माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनुभयो । माओवादी कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्वोधन गर्नुहुँदै उहाँले कम्तिमा हामीले जितेका स्थानीय तहमा हाम्रो कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो , ‘स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनौट वमोजिमको कार्यक्रम विकास गरेर अघि बढ्छौ । पार्टीमा आजमात्रै होइन, जनयुद्धकालदेखि नै अन्तरसंघर्ष र एकताको क्रम चल्दै आएको हो ।’ त्यस्तै अध्यक्ष प्रचण्डले थप्नुभयो , ‘ पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरुरी छ । नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा होइन, यो लामो संघर्ष, जनता, कार्यकर्ता र,आदोलनको परिणाम हो ।’ अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताउनुभयो । उहाँले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताउनुभयो ।

सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन।’ दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उहाँले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताउनुभयो । उहाँले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाइएको स्मरण गर्दे अहिले परेको मुद्दालाई अदालतले गम्भीर रूपमा लिने पनि विश्वास व्यक्त गनुभयो ।

यस्तै प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भन्नुभयो , ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’ उहाँले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताउनुभयो । ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताउनुभयो ।

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताउनुभयो । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उहाँले भन्नुभयो ,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’





error: Content is protected !!