नलगाडमा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखसँग समन्वयात्मक बैठक

जाजरकोट ः नलगाड नगरपालिकामा सञ्चालन भइरहेका बिभिन्न विकास निर्माणका कामहरु गुनासो रहित बनाई प्रभावकारी ढंगबाट अगाडी बढाउन छलफल सुरु भएको छ । नलगाड नगरपालिकाको आयोजनामा जिल्ला स्थित प्रदेशका कार्यालय प्रमुखसँग छलफल भएको हो ।
योजना निर्माण गर्दा दोहोरोपन नहोस भन्दै आवश्यकताका आधारमा विकास निर्माणको कामहरु अगाडी बढाउने विषयमा व्यापक छलफल भएको उपप्रमुख देवका छामिछानेले जानकारी दिनुभयो । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले नगरपालिकासँग सहकार्य गरेर जान आफूहरु उत्साहित हुनुका साथै काममा समेत छिटो, छरितो हुने विश्वास व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकामा सञ्चालन भइरहेको योजनाहरुको जानकारी आदान,प्रदान समेत भएको छ । नगरपालिकामा सञ्चालनमा रहेका योजनाहरुको प्रभावकारी कार्यान्वन , अनुगमण तथा गुणस्तरमा बनाउनका लागि व्यापक छलफल भएको छ । आवश्यकताका आधारमा आगामी बैठक ,तथा छलफलहरु जारी राख्ने निर्णय समेत भएको छ । सबै योजनाहरुमा नगरपालिकाले सहजिकरण गरेर दीगो तथा सबैको अपनत्वको हुने कार्यलाई अगाडी बढाउने निर्णय भएको छ ।
पहिलो पटक स्थानीय सरकारले सबै कार्यालय प्रमुखलाई बोलाएर विकास निर्माणको काममा सहजिकरण गरेको देख्दा आफूहरु खुसी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका कपिलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।



