संविधान संशोधन गर्दा संघीयता र व्यवस्थामा रास्वपा कुनै सम्झौता गर्दैन ः सन्तोष परियार
काठमाडौँ ः राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका क्रममा संघीयता, गणतन्त्र र वर्तमान व्यवस्थामाथि पार्टीले कुनै सम्झौता नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाएको छ। उनले रास्वपा संविधानलाई अझै समृद्ध र मजबुत बनाउने कुरामा अडिग रहेको दावी गरे।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारको संवैधानिक व्यवस्थाकै कारण संघ, प्रदेश र स्थानीय तहमा अधिकार बाँडफाँडको कुरा नमिलेको पनि बताए। उनले मुलुक र समाज अझै समृद्ध बनाउन संविधानमा उल्लेखित कुरालाई अझ प्रगतिशील बनाउनुपर्ने बताए।
उनले संविधान संशोधनको लागि संघीय संसदमा बहुमत हुनुपर्ने व्यवस्थाका कारण कांग्रेस र एमालेले चाहेर मात्र संशोधन गर्न नसकिने बताए। उनले विधेयक बनाउनु र संविधान संशोधन गर्नु फरक कुरा भएको बताए।
रास्वपाले संविधान संशोधनसम्बन्धमा पार्टीको धारणा तय गर्न कार्यदल गठनसमेत गरेको छ। काठमाडौँमा जारी पार्टी केन्द्रीय समितिको बैठकले पार्टीका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा परियारसँगै कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
आइतवार कार्यदल संयोजक परियारले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने विज्ञसँग छलफल गरी दलको तर्फबाट सार्वजनिक धारणा बनाउने बताए। उनले मौजुदा संविधानको परिमार्जन गर्दै समृद्ध संविधान बनाउने पार्टीको माग रहेको बताए।
उनले संविधानमा थपघट गर्नुपर्ने कुराहरु पहिचान गर्न विज्ञदेखि प्रदेश तह र अन्य राजनीतिक दलहरुसँग छलफल गरेर संविधान कार्यान्वयनका सवालमा देखिएका समस्याहरुलाई चिर्न कार्यदल बनाएको दावी गरे।
उनले संसदका दुई ठूला दलले सरकार बनाउँदा गरेको संविधान संशोधनको विषय उनीहरुको इमान्दारितामा भरपर्ने बताए।
उनले विधेयक बनाउन सहमति वा बहुमतको आवश्यकता पर्ने भए पनि संविधान संशोधनको लागि राष्ट्रिय सहमति आवश्यक पर्ने टिप्पणी गरे। संसदका दुई दलले दबाब दिने कुराले संसदका साना दललाई अझै जिम्मेवार बनाउने बताए।
संविधान संशोधन गर्ने मुख्य एजेण्डासहित कांग्रेस र एमालेको समीकरणमा वर्तमान गठबन्धन सरकार बनेको थियो। थाहाखबर