पश्चिम जाजरकोटका तीन पालिकामा कालेपत्र सडक बनाउन दबाब
जाजरकोट ः भेरी करिडोर हुँदै मध्यपहाडी लोकमार्गको बीचमा रहेको छेडा –चंखिला बडाबन सानाखोला सडक तत्काल पिच गर्नका लागि दबाब दिइएको छ ।
पश्चिम जाजरकोटको सुरुवाती विन्दु शिवालय गाउँपालिका–१ छेडाबजार देखि जुनिचाँदे गाउँपालिकाको सानाखोला सम्मा पिच गर्नका लागि स्थानीयबासीको माग अनुसार तत्काल काम अगाडी बढाउन पूर्व उर्जामन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गरे । पूर्वमन्त्री बस्नेतले भन्नुभयो ,‘ सरकारले प्रत्येक वर्ष पालिकाको मुकाम सम्मा पक्की सडक पुर्याउने लक्ष्य राखेको हुन्छ , तर मन्त्रालयबाट योजना छनोट गरेका मध्यबाट बजेट पठाउदा छुटाउने काम भइरहेको छ ।
यो कुरा तत्काल हल गरेर अगाडी बढन आग्रह गर्छु । सबै खालका अध्ययन भइसहेका सडकहरुमा पनि बजेट बिनियोजन नगर्दा वर्षेनी जनताले समस्य भइरहेको अवस्था छ । तत्काल जुनिचाँदेको सानाखोला सम्मा ठेक्का खोलेर काम अगाडी बढाउनुहोस । ’ सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल , शहरी विकास मन्त्रालय स्थानीय पुर्वाधार विभाग ( डोली ) का महानिर्देशक महेशचन्द्र न्यौपाने लगायतसँग छलफल गर्दा बस्नेतले तत्काल बाँकी छुटेको भागलाई बोलपत्र गरेर कार्यान्वनमा लैजान आग्रह गरेको बताए ।
छेडा – बडावन हुँदै सानाखोला जुम्ला जोडने सडक खण्डको चंखिला –वडावन मात्र बोलपत्र आवह्वान गर्दा माथिल्लो जुनिचाँदेको पुरै भाग छुटेको छ । सो छुटेको भागलाई तत्काल कार्यान्वन गरेर पक्की सडक बनाउनका लागि पहल लिन पूर्वमन्त्री बस्नेतले आग्रह गरे । पश्चिम जाजरकोटबाट जुम्ला जोडने महत्वपूर्ण सडक वर्षौदेखि अलपत्र परेपछि यस क्षेत्रका स्थानीयबासीसँगै जनप्रतिनिधिहरुले राज्यले सौतेनी व्यवहार गरेको भन्दै गुनासो गर्दै आएका छन् । यसै आवमा बाँकी कच्ची सडकमा पनि कालेपत्र गर्नका लागि बजेट व्यवस्थापन गरि तत्काल बोलपत्र गर्न मन्त्रालयको टिम सहमत भएको बस्नेतले बताए । पश्चिम जाजरकोट अर्थात भेरी नदीको किनारै किनार पुर्वी जाजरकोटमा भेरी करिडोरले जोडिने गर्दछ ।
भेरी करिडोरसँग पुर्वी जाजरकोटको कुदुबाट मध्यपहाडी लोकमार्ग जोडिएर पश्चिम जाजरकोटको छेडागाडको वडाबन हुँदै दैलेख जोडने गर्दछ । पश्चिम जाजरकोटको शिवालय गाउँपालिका–१ छेडाबाट छेडागाड हुँदै जुनिचाँदे गाउँपालिकाबाट जुम्ला जोडने सडकलाई प्रयाप्त मात्रामा बजेट बिनियोजन नगर्दा वर्षेनी अलपत्र पर्दै आएको छ । पश्चिमका तीनवटा पालिकामा अझैँ सम्म पक्की सडकले छुन नसकेको कारण यहाँका स्थानीयबासीहरु हैरान भएका छन् । सरकारले प्रत्येक वर्ष पालिकाको मुकाम सम्म पक्की पुर्याउने लक्ष्य राखेपनि बजेट कार्यान्वन गर्दा सधैँ कम बजेट पठाएर पुरै सडकमा टेन्डर नहुँदा काम अलपत्र पर्दै आएको छ ।
शिवालय गाउँपालिका , छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा अहिले सम्मा पक्की सडक पुग्न सकेको छैन । कच्ची कटानको काम पुरा भएको धेरै समय भएपनि पक्की सडक निर्माणमा प्रयाप्त बजेट नहुँदा सधै पछि पर्दै आएको छ । अहिले छेडागाड देखि मोर्क सम्मको केही भागमा मात्र पिच भएको छ । २०६५ सालमै कच्ची निर्माण भएको सडकको अहिले सम्म पक्की नहुँदा समस्य हुँदै आएको हो ।