मुर्रा राँगाबाट चार हजार डोज वीर्य उत्पादन
खजुरा ः बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ ।
गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका १५ वटामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका थिए । तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको हो । गत आर्थिक वर्षमा दुई वटा भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज वीर्य उत्पादन गरिएको कार्यालयका निमित्त प्रमुख पशु विकास अधिकृत डा।खिमानन्द खनालले जानकारी दिनुभयो ।
“गत वर्ष भारतबाट ल्याइएका १५ मध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा यहाँ ल्याइएको थियो, हामीले दुई वटा राँगाबाट वीर्य उत्पादन सुरु गरेका छौँ, गत आवमा दुई हजार ६४३ डोज र यस चालु आवमा चार हजार ८३ डोज वीर्य उत्पादन गरेका र्छौँ ।” पशु विकास अधिकृत डा।खनालले भन्नुभयो, “यो वर्ष उत्पादन गरेको वीर्य परीक्षणकै क्रममा छ, गत आवमा उत्पादन गरेको दुई हजार ६४३ डोज वीर्य परीक्षणपश्चात् वितरण गरिसकेका छौँ, वितरण गरिएको वीर्यबाट आगामी माघ महिनाबाट पाडा पाडी उत्पादन सुरु हुनेछ ।”
कार्यालयले राँगा, साँढे र बोकाको वीर्य उत्पादन गर्दै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्म पाँच महिनाको अवधिमा २९ हजार ३१८ डोज जमेको वीर्य उत्पादन गरिएको डा। खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १० हजार ६२ डोज साँढे र २३ हजार ५७८ डोज राँगाको गरी चालु आर्थिक वर्षको पाँच महिनाको समय अवधिमा २९ हजार ३१८ डोज वीर्य उत्पादन गरिएको हो ।
जर्सी साँढेबाट तीन हजार २३१ डोज र होलिष्टेन साँढेबाट छ हजार ८३१ डोज गरी दस हजार ६२ डोज साँढको वीर्य उत्पादन गरिएको छ । त्यसै गरी नेपालगन्ज मुर्रा राँगाबाट १९ हजार २५६ डोज, भारतीय मुर्रा राँगाबाट चार हजार ८३ डोज र गड्डी राँगाबाट २३९ डोज गरी २३ हजार ५७८ डोज राँगाको वीर्य उत्पादन भएको छ ।
त्यसै गरी यस आवमा कार्यालयबाट ३१ हजार ४७७ डोज वीर्य वितरण गरिएको पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो । जसमध्ये, जर्सी साँढेको ११ हजार ६६२ डोज, होलष्टेन साँढेको चार हजार ९२५ डोज, साहीवाल साँढेको एक हजार ३६८ र गिर साँढेको ४८७ डोज वीर्य वितरण गरिएको जैसीले बताउनुभयो । जैसीका अनुसार मुर्रा राँगाको ११ हजार ६५६ र बोयर बोकाको एक हजार ४१९ डोज वीर्य वितरण गरिएको छ ।
यो चालु आवमा गत आर्थिक वर्षको स्टक रहेको र माग पनि बढी नभएका कारण बोयर बोकाबाट वीर्य उत्पादन गरिएको छैन । यस केन्द्रमा रहेका वीर्य अन्य केन्द्रबाट माग भइआएमा पठाइने र यस केन्द्रमा आवश्यक वीर्य अन्य केन्द्रबाट समेत ल्याएर वितरण गरिँदै आइएको उहाँले बताउनुभयो ।
कार्यालयले कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन मात्र नगरेर पशुलाई प्राकृतिक गर्भाधानको सेवा पनि प्रदान गर्दै आएको छ । कार्यालयमा प्राकृतिक गर्भाधानका लागि राँगा तीन, बोका सात र साँढे चार वटा गरी १४ वटा पशु पालिएका छन् । त्यसै गरी कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन गर्न राँगा १२ वटा, बोका आठ र साँढे आठ गरी २८ वटा पशु छन् । त्यसै गरी छ वटा बाख्रासमेत गरेर कार्यालयमा हाल ४८ वटा पशु छन् ।
कार्यालयबाट यस वर्ष ३८ गाई, १७१ भैँसी र १४१ बाख्रा गरी ३५० वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको छ । गाईलाई गर्भाधान गराएबापत ७५ रुपियाँ, भैँसीलाई एक सय रुपियाँ र बाख्रालाई २५ रुपियाँका दरले मूल्य निर्धारण गरी राजस्व सङ्कलन हुँदै आएको छ ।
गत आर्थिक वर्ष २०८०–०८१ मा कार्यालयबाट राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरिएको थियो । आर्थिक वर्ष २०७८–०७९ को असोज महिनाबाट कार्यालयबाट वीर्य उत्पादन सुरु गरिएको हो । कार्यालयले यो चालु आवमा एक लाख डोज वीर्य उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । स्रोत ः गोरखापत्र