भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि एक बर्ष देखि सिकाइ केन्द्रमा पठनपाठन
जाजरकोट ः गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि सिकाइ केन्द्रमा पठनपाठन हुँदै आएको छ । भूकम्पका कारण क्षतिग्रस्त भवन बस्न नमिल्ने भएपछि यहाँका दुर्गम गाउँका विद्यालयमा पठनपाठन सिकाइ केन्द्रमा भएका छन् । स्वास्थ्य चौकी र विद्यालयका भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले २५ करोड विनियोजन गरे पनि काम सुरु हुन सकेको छैन । अधिकांश विद्यालयका भवन क्षति भएपछि बालबालिकाको बिचल्ली भएको छ ।
गत वर्षको भूकम्पले भत्किएका विद्यालय भवन निर्माण हुन नसकेपछि टिनले बारेको अस्थायी सिकाइ केन्द्रमा पठनपाठन हुने गरेको छ । सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीका अनुसार भूकम्पबाट विद्यालयका भवन क्षतिग्रस्त भई बस्न नमिल्ने भएपछि तत्कालका लागि बालबालिकाको पढाइ प्रभावित हुन नदिन निर्माण गरेका सिकाइ केन्द्र हालसम्म प्रयोग भएका छन् । भूकम्प गएको एक वर्ष बिते पनि भवन निर्माणका लागि सरोकारवाला निकाय तीन वटै सरकारका जनप्रतिनिधि कछुवा गतिमा काम गर्न थालेपछि गुणस्तरीय शिक्षा हासिल गर्न सकेका छैनन् ।
कार्यालय प्रमुख खत्रीका अनुसार सात वटा स्थानीय तहमा ४०१ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् । भूकम्प गएको एक वर्ष बिते पनि सोही सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको उहाँले बताउनुभयो । भेरी नगरपालिकामा ३४ वटा सामाजिक विकास कार्यालय, सिकारापुर सामुदायिक संस्था, रिलिफ नेपाल, सेभ द चिल्ड्रेन, बुद्धिस्ट फाउन्डेसन, र वल्र्ड भिजन, युवा जागरण विकास केन्द्र (यार्सन), स्याक नेपालले निर्माण गरिदिएका छन् । छेडागाड नगरपालिकामा ४५ वटा सेभ द चिल्ड्रेन, नलगाड नगरपालिकामा ६२ वटामध्ये युनिसेफले ४५ वटा, अस्थायी सिकाइ केन्द्र (९२ वटा कक्षाकोठा) १२ वटा केन्द्र निर्माण गरेका छन् । गोरखापत्र