कपुरकोट गाउँपालिकामा गर्भवतीलाई निस्शुल्क एम्बुलेन्स सेवा

सल्यान ः जिल्लाको कपुरकोट गाउँपालिकाले गर्भवतीलाई निस्शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । गर्भवतीलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा संचालित प्रसूतिगृहमा आउजाउमा सहज होस् र घरमै सुत्केरी हुन नपरोस् भनी पालिकाले निस्शुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्सको सेवा पाउन नसक्दा घरमै असुरक्षित सुत्केरी हुन बाध्य हुँदै आएका महिलालाई सहज होस् र प्रसूतिगृहमा सुत्केरी हुन सकुन् भनेर गर्भवतीलाई निस्शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले बताए । ‘गर्भवती महिला तथा सुत्केरी भइसकेका महिलाले पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा संचालित ६ वटै प्रसूतिगृहमा सुत्केरी गराउन जाँदा एम्बुलेन्सको कुनै शूल्क तिर्नु पर्दैन । पालिकाबाहिर दाङ तथा नेपालगन्ज जानु परेमा भने न्यूनतम शुल्क तिर्नु पर्छ’ उनले भने, ‘गर्भवतीलाई लैजाँदा निजी संस्थाका एम्बुलेन्सले तुलसीपुरसम्मको ५ देखि ६ हजार र नेपालगन्जसम्मको १० हजार लिने गर्छन् । हामीले तुलसीपुरसम्मका लागि २ हजार ५ सय र नेपालगन्जका लागि ५ हजारमात्र शुल्क तोकेका छौं ।’ उनले न्यून आर्थिक अवस्था भएकालाई निस्शुल्क सेवाको दिने गरेको पनि उनले बताए ।

कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुबास हमालले घरमा हुने असुरक्षित सुत्केरीको संख्या घटाउनमात्र नभई मातृ र नवजात शिशु मृत्यु शून्यमा झार्न पालिकाले गर्भवतीका लागि निस्शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको बताए ।

पालिकाले प्रत्येक वडामा प्रसूति गृह संचालनका साथै एम्बुलेन्स सेवा निस्शुल्क संचालन गरेपछि गर्भवती महिलालाई धेरै सहज भएको सिनबाङकी निर्मला रोकाले बताइन् । स्रोत ः कान्तिपुर





error: Content is protected !!