
काठमाडौँ ः प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर(कान्छाराम) तामाङ र उनकै दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबिच सवाल जवाफ भयो ।
लामो समय पश्चात् समिति बैठकमा पुगेका सांसद तथा महामन्त्री शर्माले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्दै मन्त्री बनेका तामाङलाई प्रश्न गरेका थिए ।
महामन्त्री शर्माले तामाङले सञ्चालन गरेको ‘कान्छाराम कन्स्ट्रक्सन’ कालो सूचीमा परेको विषयमा प्रश्न उठाएका थिए ।
‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको ध्यान जानुपर्छ‚’ शर्माले प्रश्न उठाएका थिए ।
जवाफमा तामाङले आफूले २०४४ सालबाट उक्त कन्स्ट्रक्सन चलाएको र २०७९ को चुनावमा पार्टीबाट टिकट पाउनु भन्दा साढे दुई वर्ष अघि नै कम्पनीबाट ‘हात उठाएर’ बाहिरिएको बताए । आफू कम्पनीमा नरहे पनि कानुनले सजाय दिन्छ भने जुनसुकै समयमा पनि उक्त सजाय भोग्न तयार भएको उनको भनाइ थियो ।
महामन्त्री शर्मालाई जवाफ दिने क्रममा उनले कानुनले दोषी ठहर गरे एक मिनेटमा पद तथा राजनीतिमा बस्दै नबस्ने उल्लेख गरे ।
‘मेरो कम्पनी २०४४ सालमा दर्ता भएको हो । मैले २०७९ को चुनाव टिकट पाउनु अघि साढे दुई वर्ष अघि छोडेको हो । अहिले कानुनले भन्छ भने सबै छाड्न तयार छु‚’ तामाङले जवाफ दिँदै भने‚ ‘अहिले कानुनले ठहरे एक मिनेट पनि पदमा बस्दिन । म माननीयबाट मात्र हैन राजनीतिबाट बाहिर निस्कन तयार छु । सबै छाड्न तयार छु ।’
तामाङले जवाफ दिएपछि एमाले सांसद रघुजी पन्तले प्रश्न थपे । उनले आफूले जवाफ नचाहेको भन्दै भने‚ ‘मन्त्रीको कम्पनीले बाटो नबनाएको भन्ने गुनासो छ । यसमा जवाफ चाहिएन , तपाईँ अलग्गिए पनि काम छिटो गर्न भन्दिनु होला।’
जवाफमा राज्यमन्त्री तामाङले भने‚ ‘अर्बौँको सम्पत्ति राखेर कम्पनी खोलेको छ । पैसा तिर्न तयार छौँ ।’
प्रधानमन्त्रीको मातहत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्दा राज्यमन्त्री तामाङको कम्पनी पनि उक्त सूचीमा राखेको छ । उनको कान्छाराम कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेको छ । तामाङ रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
बेनामे उजुरीले हैरान
शुक्रबारको राज्यव्यवस्था समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भएको थियो । छलफलमा तामाङ आफै संसाधनकर्ताको रूपमा उपस्थित भएका थिए ।
विधेयकमाथि संशोधन राख्दै उनले बेनामी उजुरीले आफूले धेरै दुख पाएको गुनासो पोखेका थिए । आफूले १० औँला जोडेर अनुरोध गर्ने भन्दै उनले बेनामी उजुरी हाल्ने परम्परा अन्त्य गर्न विधेयकमै लेखिदिन अनुरोध गरे । उनले उजुरीकर्ताले उजुरी दिँदा नागरिकताको फोटोकपी अनिवार्य गरिदिन अनुरोध गरे ।
‘ मैले कसैले दुःख नपाउन भनेर संशोधन हालेको हो । मैले अख्तियार आयोग नहुँदै विशेष प्रहरी हुँदै देखि सुरु भएर हालसम्म पनि दुःख पाएको छु‚’ उनले भने‚ ‘बेनामे उजुरीले अख्तियारको कर्मचारी पनि वाक्क भएका छन् । यसले मुद्दाको सङ्ख्या मात्र बढाएको छ । म १० औँला जोडेर अनुरोध गर्छु कि नागरिकताको फोटोकपी अनिवार्य गरौँ ।’ स्रोत ः रातोपाटी









