कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन स्थगित

जुम्ला ः बढुवाको माग गर्दै आन्दोलन थालेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ ।

मंगलबार प्रतिष्ठान पदाधिकारी र कर्मचारीहरुबीच भएको वार्तामा आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि प्रतिष्ठानको कार्यकारी परिषद्‌ले सभामा लैजाने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो । कार्यकारी परिषद्ले शिक्षक कर्मचारीको स्तरवृद्धि गर्ने र अनुमोदनका लागि सभामा पेस गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको लेखा अधिकृत इन्द्रराज डाँगीले जानकारी दिए ।

लेखा अधिकृत डाँगीका अनुसार कार्यकारी परिषद्‌ले स्तरवृद्धि गर्ने निर्णय गरिसकेको छ । शिक्षक तथा कर्मचारीहरुले प्रेस विज्ञप्ति निकाल्दै सभाले गर्ने कार्यकारी परिषद्‌ले गरेको निर्णय सभामा अनुमोदन हुने प्रतिक्षामा रहेको बताएका छन् ।

कात्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको दीक्षान्त समारोहमा आउने र सभासमेत बस्ने भएकोले कार्यकारी परिषद्‌को निर्णय अनुमोदन हुनेमा विश्वस्त रहेको कर्मचारीहरुले बताएका छन् । लेखा अधिकृत डाँगीले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली दीक्षान्त समारोहमा आउने भएकोले शिक्षक कर्मचारीहरुका मागहरु झनै सम्बोधन हुने आशा बढेको बताए । उनीहरुले सभाले माग सम्बोधन नगर्ने अवस्थामा पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत् राख्ने समेत चेतावनी दिइएका छन् ।

लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब भत्ता नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरुले आन्दोलन सुरु गरेका थिए । गत भदौ २६ गते अदालतले कर्मचारीहरुको पक्षमा फैसला गरेको थियो । फैसला कार्यान्वयन नभएको भन्दै बारम्बार कर्मचारीहरुले पदाधिकारीहरुसँग विभिन्न माध्यमबाट दबाब दिइरहेका थिए । अदालतले प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिमका सामान्य सिद्धान्त समेतको विषयमा आवश्यकताअनुसार लोकसेवा आयोग समेतका सरोकारवाला निकायसँग परामर्श गर्नुपर्ने अवस्था भए सो बमोजिम छिटोछरितो रायपरामर्श लिई बढुवा हुने प्रक्रियागत कार्यहरुलाई प्राथमिकता दिन आदेश गरेको छ । फैसलामा भनिएको छ,‘बढुवा कार्य सुरु गर्नुपर्ने कर्तव्य दायित्व रहेभएका विपक्षी जिम्मेवार पदाधिकारीहरुले गर्नुपर्ने नै हुन्छ ।’ स्रोत ः कान्तिपुर





error: Content is protected !!