प्रदेश मन्त्री अधिकारीसँगै जापान गएका ३ जनाको साथबाट नक्कली कागजात बरामद, ६ जना पक्राउ

काठमाडौँ ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको छ । अधिकारीसँगै जापान गएका ३ जना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कार्तिक १४ मा मन्त्री सहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।

काठमाडौँ विमानस्थलमा ओर्लिएपछि ३ जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगायो । तर, मन्त्री अधिकारी विमानस्थलबाट सहजै बाहिरिए ।

जापान भ्रमणबारे आलोचना भएसँगै उनले बुधवार राजीनामा दिएका छन् । जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर छन् ।

उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाउन पठाएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा नै बुझ्नुपर्ला ।’

जापानबाट डिपोर्ट भएर आएका दावा शेर्पाको साथबाट प्रहरीले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बरामद गरेको छ । कञ्चन देवकोटा र जनक राईको साथमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र प्रहरीले बरामद गरेको छ ।

सो परिचयपत्रको आधिकारिकताबारे आन्तरिक मामिला मन्त्रालय र ऐँसेलुखर्क गाउँपालिकामा पत्राचार गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

जापानबाट डिपोर्ट भएकाहरूले अन्य ३ जनाले कागजात बनाइदिएको प्रहरीसँग बताएका छन् । आरोपीहरूको बयानका आधारमा मन्त्री अधिकारी पनि अनुसन्धानको दायरमा आउन सक्छन् । अनुसन्धानमा संलग्न अधिकारीहरू भन्छन्, ‘कागजात बनाउने काममा संलग्न देखिएमा मन्त्री पनि मुद्दामा प्रतिवादी बन्न सक्छन् ।’

काठमाडौँ प्रहरीले अहिले लिखतसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मन्त्रीसँगै अरू ३ जनालाई सांस्कृतिक कार्यक्रमको अवरणमा जापान पठाउने अरू दुई जना फरार छन् । फरार आरोपीहरूलाई प्रहरीले खोजिरहेको छ । स्रोत ः रातोपाटी




सम्बन्धित समाचार


error: Content is protected !!