गिरि बन्धु र बेचन झाको रिपोर्ट विषयान्तर गर्न संविधान संशोधनका कुरा उठाइयो ः माओवादी

काठमाडौँ ः नेकपा माओवादी केन्द्रले गिरि बन्धु टी–स्टेट प्रकरण र बेचन झाको रिपोर्टका विषयलाई विषयान्तर गर्न एमाले र कांग्रेसले संविधान संशोधनको कुरा गरेको आरोप लगाएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो टिप्पणी गरेका हुन्।

एमाले–कांग्रेसलाई उनले भने, ‘गिरि बन्धु टी–स्टेट र बेचन झाको बेचैन रिपोर्टहरू आएपछि आत्तिएर जसरी भागदौड शुरु गर्नुभएको छ। यसलाई विषयान्तर गर्न संविधान संशोधनको कुरा गरिराख्नुभएको छ।’

होइन भने संविधानको सबैभन्दा राम्रो पक्ष मानिएको समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि धावा बोल्ने वा संशोधन गर्नुपर्ने कुनै कारण नरहेको सांसद सापकोटाको दाबी छ।

‘संसारमा पिछडिएका वर्ग, जाति, लिङ्ग र समुदायलाई समावेश गर्ने भनेर यो प्रणाली राखिएको हो तर यसमाथि हमला गर्न खोजिराख्नुभएको छ’, उनले प्रश्न गरे, ‘गत निर्वाचनमा हामीले के संविधान संशोधन गर्छौं भनेर भोट मागेका थियौं ? यो समानुपातिक निर्वाचन प्रणालीप्रति किन वितृष्णा पैदा भयो तपाईंहरूलाई ?’ स्रोत ः थाहाखबर




सम्बन्धित समाचार


error: Content is protected !!