बाढी पहिरोका कारण कर्णालीका ३ वटा राजमार्ग/सडक अवरुद्ध

सुर्खेत ः देशभरका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण कतै पहिरो गएको छ भने कतै बाढी आएको छ । बाढी पहिरोले जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला–डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ ।
वर्षाका कारण आएको बाढी तथा पहिरोले देशभरका २३ वटा राजमार्गहरु पूर्ण अवरुद्ध भएका छन् । देशभरका एक सय ४७ राजमार्गहरुमध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडकहरु दुवैतर्फ सञ्चालनमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले जानकारी दिएको छ ।










