कारको ठक्करबाट पैदल यात्रुको मृत्यु, राजमार्ग अवरूद्ध

सुर्खेत , १० जेठ ः कारको ठक्करबाट पैदल यात्रा गरिरहेका वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षिय लोकबहादुर शाहीको मृत्यु भएपछि बिहीबार विहानै देखि यहाँको यातायत सेवा अवरुद्ध बनाएको छ । बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उहाँलाई ठक्कर दिएको थियो ।
शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भए लगत्तै प्रदेश अस्पतालमा उपचार गर्दा गर्दै राति मृत्यु भएको कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता बीरबहादुर ओलीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको छ। मृतकका आफन्तले कारको यथाशिघ्र खोजी गरिदिन माग गर्दै राजमार्ग अवरूद्ध गरेका छन्। उनिहरूले तिनकुने चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। सुर्खेत आउने र जाने सबै सडक अवरुद्ध बनाएको छ ।








