गाजामा थप एक बन्धकको शव फेला

गाजा ः इजरायली सेनाले गाजामा अर्का एक बन्धकको शव फेला पारेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ५३ वर्षीय रोन बेन्जामिनको शव शुक्रबार अन्य तीन बन्धकको शवसँगै भेटिएको थियो।

इजरायली सेनाका अनुसार ५३ वर्षीय बेन्जामिन अक्टोबर ७ मा गाजा सीमा नजिक साइकल यात्रामा भाग लिइरहेका थिए। हमास लडाकुहरूले सोही दिन इजरायलमा आक्रमण गरेका थिए । इजरायलले हमासको आक्रमणमा १२ सय मानिस मारिएको दाबी गरेको छ भने गाजामा २५२ जनालाई बन्धक बनाइएको बताएको थियो ।

इजरायली सेनाले सोसल मिडिया प्लेटफर्म एक्समा बेन्जामिनको अक्टोबर ७ मा नै मृत्यु भएको जानकारी दिएको छ । इजरायली सेनाका अनुसार उनको परिवारलाई पनि यसबारे जानकारी गराइएको छ । शुक्रबार इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन बन्धकहरूको शव फेला पारेको दाबी गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि इजरायली सेनाको आक्रमणबाट ३५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको दाबी गरेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् । स्रोत ः रातोपाटी





error: Content is protected !!