काँक्रेविहारमा हाफ म्याराथुन हुँदै

सुर्खेत , २७ वैशाख ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी असार ७ गते हाफ म्याराथुन सम्पन्न हुने भएको छ । मध्यपश्चिम फिटनेश सेन्टरको आयोजनामा आयोजित हाफ म्याराथुनको दोस्रो संस्करणमा विजेता हुनेले एक लाख रुपैंया नगद पुरस्कार पाउने घोषणा गरिएको हो ।
काँक्रेविहार हाफ म्याराथुनका संयोजक प्रमोद हमालका अनुसार दोस्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार, चौथो हुनेले ३० हजार र दशौं स्थानसम्म प्राप्त गर्ने धावकले जनही २५ हजार पाउनेछन् । ‘खेलकुद सँग सरकार र निजि क्षेत्र जोड्न यो म्याराथुन विगतको वर्ष देखि नै आयोजना गर्न थालिएको हो । विगतको वर्ष हामीले कर्णाली प्रदेशका धावकलाई मात्रै सहभागि गराएका थियौं भने यो वर्ष हामीले देशैभरीका धावकलाई समेटने तयारी गरेका छौं ।’ हमालले भन्नुभयो , ‘सुर्खेत बाहिरका धावकका लागि खाना भनेर दुई दिनको दुई हजार दिने निर्णय गरेका छौं ।’
राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्ने मुल उदेश्यका साथ यो म्याराथुन आयोजना गर्न लागिएको उहाँको भनाई छ ।
‘
२१ किलोमिटरको हाफ म्याराथुनका अलावा विद्यार्थीलाई केन्द्रीत गर्दै ५ किलोमिटर र तीन किलोमिटरको म्याराथुनपनि समावेश गरेका छौं । यसमा दुई हजार विद्यार्थीहरु समावेश गर्ने तयारी हाम्रो छ ।’ कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका संयोजक हमालका अनुसार ‘यो वर्षको खेलमा १४ लाख ९५ हजार लागत लाग्ने अनुमान गरेका छौं । यसमा हामीले खेलकुद परिषदबाट पाँच लाख प्राप्त गरेका छौं भने प्रदेश सरकारको पर्यटन मन्त्रालय, स्थानीय पालिका र नीजि क्षेत्रबाट बाँकी रकम जुटाउने उदेश्य राखेका छौं ।’










