भूकम्प पीडित जाजरकोटका पत्रकारलाई काउन्सिलको सहयोग

काँर्केविहार (सुर्खेत), १३ वैशाख ः कात्तिक १७ गते जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भइ गएको भूकम्पबाट पीडित भएका पत्रकार र सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेट शुल्कबापत आर्थिक सहयोग गरेको छ ।
भूकम्पको गएको केही समयपछि जाजरकोट पुग्नुभएका सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले भूकम्प पीडित पत्रकारका लागि इन्टरनेट शुल्क सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । मन्त्री शर्माले गरेको प्रतिवद्धताअनुसार काउन्सिलको टोलीले जाजरकोटका २४ जना पत्रकार र केही सञ्चार माध्यमलाई आर्थिक सहयोग गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । पीडित पत्रकारको पक्षमा काउन्सिल सधैँ रहेको भन्दै अध्यक्ष बस्नेतले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो ।

दुरदराजमा बसेर गरिएको पत्रकारिताले साच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो । त्यस्तै काउन्सिलले जाजरकोटका मिडिया हाउसको अनुगमन तथा निरीक्षण गरिएको छ । भूकम्पबाट क्षती भएको भेरीमालिका दैनिक , नेपालपोष्टखवर लगाएतका सञ्चार माध्यमको अनुगमण गरिएको काउन्सिलका अधिकृत महेन्द्रराज सिंहले जानकारी दिनुभयो । जाजरकोटका पत्रकारलाई आचारसंहिता जागरण कार्यक्रमको आयोजना गरी अन्तरक्रिया समेत गरिएको हो ।
अध्यक्ष बस्नेतले काउन्सिलबाट अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रक्रिया अनलाइनबाट गर्न लागिएको समेत जानकारी दिनुभयो । अहिले आन्तरिक काम भइरहेको छ उहाँले भन्नुभयो, छिटै नै त्यो काम सम्पन्न गरिने छ । सूचिकृतकै लागि काठमाडौँ आउनु नपर्ने जानकारी दिनुभयो । त्यस्तै रुकुम पश्चिमका पत्रकारलाई पनि इन्टरनेट शुल्क बापतको रकम उपलब्ध गराएको छ । सुर्खेतमा पनि युटुब व्यवस्थापनसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।










