शाहीको सांसद पद निलम्बन, मन्त्रीको कुर्सीमा बसेर अवैध कामलाई सदर गरेको दाबी

काठमाडौँ – कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ। तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीको हैसियले वाइडबडी खरिद गर्दा भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ ले कुनै पनि ‘राष्ट्रसेवक’विरुद्ध भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ। ‘राष्ट्रसेवक’ भन्नाले सरकारी कोषबाट तलबभत्ता खाने र निर्वाचित व्यक्तिहरुसमेत पर्छन्।

आयोगले बिहीबार मुद्दा दायर गरेसँगै शाही निलम्बनमा परेका हुन्। उनले मन्त्रीका हैसियतले भ्रष्टाचारजन्य कामलाई सघाउ पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ।

आयोगका अनुसार विमानको भार क्षमता २४२ टन हुनुपर्नेमा २३० टनमा झारिएको तर रकम भने २४२ टनकै दिएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ। विभागीय मन्त्रीका हैसियतमा गलत काम गर्ने सच्याउनुपर्नेमा उनीबाट नभएको आयोगले दाबी गरेको छ। त्यस्तै, उनले जमानतविनै सटही गर्न अनुमति दिएको, अवैध एमओयीलाई वैधानिकता दिएको आयोगको दाबी छ।

उनीविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ बिगो कायम गरिएको छ। नेपाल वायु सेवा निगमले २०७३ वैसाख २ गते अध्ययन उपसमिति गठन गरेर दुई वटा वाइडबडी खरिदको प्रक्रिया अघि बढाएको थियो।

सरकारको जमानीमा नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट २४ अर्ब ऋण लिएर वायु सेवा निगमले एयरबस कम्पनीको पहिलो वाइडबडी विमान ए ३३०–२००, अन्नपूर्ण २०७५ असार १४ गते र ए ३३०–२००, मकालु त्यहीँ वर्ष साउन १० गते ल्याएको थियो।





error: Content is protected !!