माओवादी संसदीय दलको निर्णय ः विश्वासको मत लिएर मात्र राजिनामा दिने

सुर्खेत २० चैत ः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् । मुख्यमन्त्री शर्मा निवासमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजिनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिनुभयो ।
दलको बैठक पछि यामलाल कँडेल फेरी माओवादी नेताहरुलाई भेटन मुख्यमन्त्री निवास पुगेका छन् । आज लिने भनिएको विश्वास मत भोलीलाई सारेर नेताहरु छलफलमा जुटेका थिए ।
नेकपा ( माओवादी केन्द्र) का शीर्ष नेतृत्वले राजिनामा दिन मुख्यमन्त्री शर्मालाई गरेका आग्रह शर्माले नमान्दा केही दिन सत्ता लम्बिने देखिएको छ । चैत १९ गते बेलुकी मात्र कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने भन्दै माओवादी केन्द्रले सर्कुलर गरेको थियो ।



