खाना महोत्सवमा ४५ हजारभन्दा बढीको व्यापार

बबिता विष्ट
पाल्पा ः तानसेन नगरपालिकाको वडा नम्वर ४ स्थित मोहन कन्या माध्यमिक विद्यालयमा एक दिने खाना महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवमा विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका थिए । महोत्सवमा १५ प्रकारका परिकारहरू राखिएको थियो ।
विद्यार्थीहरूले पाल्पाली चुकाउनी मःम, पकौडा, फ्रेञ्च फ्राइ, ससेज, चिकन छोइला, भेज छोइला, बटुक, आलु कवाफ, , पानी पुरी, चटपटे, कफि लगायतका परिकार विद्यालय आँगनमै पकाउँदै बिक्री गरिएको थियो । अभिभावक, शिक्षक तथा विद्यार्थीहरू विभिन्न परिकार खाँदै रमाउँदै थिए । छात्राहरूले नाँचगानसमेत प्रस्तुत गरेका थिए ।
४५ हजारभन्दा बढीको बिक्री भएको शिक्षक टंक भुसालले बताए । विद्यार्थीहरूलाई कक्षा शिक्षक रिता अधिकारी, शान्ता सोमै थापालगायत शिक्षकहरूले सहयोग गरेका थिए । खाना महोत्सवमा सहभागी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिद्यान श्रेष्ठले विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रम सिपको विकास हुने, सामान खरिद र खाना परिकार बनाउने सिपको विकास हुने र सञ्चार सिप, नेतृत्व सिप जस्ता क्षमता विकास हुने बताए। विद्यार्थीको अध्ययनका साथै यस प्रकारका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यान दिएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताए ।










