हुम्लाका ८ माओवादी जनप्रतिनिधिले गरे राष्ट्रियसभा चुनावमा मतदान नगर्ने निर्णय

हुम्ला ः कर्णालीबाट राष्ट्रियसभामा सिफारिस भएका माओवादी केन्द्रका नेता दिपेन्द्र रोकायालाई पार्टी केन्द्रले बाइपास गरेको भन्दै हुम्लाका आठ जना जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन् ।

माओवादी जिल्ला समन्वय समितिका संयोजक रोकायालाई राष्ट्रियसभाका लागि एकल नाम सिफारिस गरेको माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुम पश्चिम, जाजरकोट र कालीकोटलाई मात्रै अवसर दिएको भन्दै मतदान प्रक्रियामै सहभागी नहुने निर्णय गरेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आइतबार बसेको जनप्रतिनिधिहरूको बैठकले राष्ट्रियसभामा हुम्लाले अवसर नपाए कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको पत्रमा माओवादीबाट हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङदम्डोल लामा , कर्णाली प्रदेशसभा सदस्यहरू रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्षले हस्ताक्षर गरेको नाम नबताउने सर्तमा माओवादी एक नेताले बताए ।





error: Content is protected !!