‘राउटेको सुरक्षामा जिम्मेवार छौँ’

दैलेख ः दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रशासन राउटेको सुरक्षामा जिम्मेवार रहेको बताउनुभएको छ । आज जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राउटेलाई चिसोबाट बच्न विभिन्न सामग्री वितरण गर्दै उहाँले राउटेको सुरक्षामा प्रशासन जिम्मेवार रहेको बताउनुभयो ।प्रजिअ भुसालले चिसोको समयमा राउटे बस्तीमा समस्या नहोस् भनेर विपद् कोषमार्फत विभिन्न राहत सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले राउटेले सरकारबाट पाउँदै आएको भत्ता गुराँस गाउँपालिकाले दिँदै आएकाले माघी पर्वअघि नै उक्त रकम उपलब्ध गराउन फोनमार्फत आग्रहसमेत गर्नुभयो ।
कोषमार्फत राउटे बस्तीका ४१ घरलाई त्रिपाल, बाल्टिन्, कम्बल, सिरक, डोरी, टर्चलाइट, जग र रुमालसहितका सामग्री वितरण गरिएको भुसालले बताउनुभयो ।
राहत सामग्री पाएसँगै राउटेका मुखिया सूर्यनारायण शाहीले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले चिसोको समयमा न्यानो कपडासहित आवश्यक सामग्री दिएसँगै बस्तीका अधिकांशलाई जाडो काट्न सहज हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखले राउटे बस्तीमा सचेतनासम्बन्धी कार्यक्रम गरेको छ । पछिल्लो समय राउटे मदिरा लगायतका कुलतमा फस्दै गएको देखिएकाले प्रहरीले बस्तीमै पुगेर सचेतना कार्यक्रम गरेको हो ।
राउटेलाई मदिरा सेवन नगर्न आग्रह गर्दै दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले कुलतबाट बच्नुपर्ने बताउनुभयो । फिरन्ते जीवन बिताउँदै जङ्गलमा बस्दै आएका राउटे हाल यहाँको भैरवी गाउँपालिका–४ को बाङ्गेतडामा बस्दै आएका छन् । यहाँ राउटेको सङ्ख्या एक सय ४१ रहेको छ ।









