अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागितामा जोड

सुर्खेत ः सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रले आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘अपाङ्गता र लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रम तर्जुमाका लागि क्षमता विकास तालिम’मा सहभागी सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
उनीहरुले तिनै तहका सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिका विषय भनेअनुसार समेटिन नसकेको भन्दै आगामी योजनामा अर्थपूर्ण सहभागिता गराइनुपर्नेमा जोड दिएका हुन् ।
तालिमको मुख्य प्रशिक्षकको रुपमा रहनुभएका कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै त्यसका लागि यो तालिम आयोजना गरिएको बताउनुभयो ।
अहिले हरेक पालिकामा अपाङ्गता समन्वय समिति रहेको भन्दै उक्त समितिमार्फत अपाङ्गता भएका व्यक्तिका समस्या समाधानको काम भइरहेको उहाँले जानकारी दिनुभयो । गहतराजले समन्वय समितिले लैङ्गिक उत्तरदायी सम्बन्धी क्षमता विकास गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।
वीरेन्द्रनगर अपाङ्गता समन्वय समितिका पदाधिकारीले अपाङ्गता भएका व्यक्तिका विभिन्न समस्या रहेको भन्दै यसको समाधान नीति निर्माण तहबाट नै गर्नुपर्नेमा जोड दिएका छन् ।
समितिका सदस्य तुलसी बुढाले सबैभन्दा ठूलो समस्या परिचयपत्र वितरणमा देखिएको भन्दै कार्यविधि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । समितिमा दोभाषेको अभाव भएकाले बहिरा व्यक्तिका समस्या समाधानमा थप जटिलता भइरहेको उहाँको भनाइ थियो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले स्थानीय सरकारको नीति कार्यक्रम र बजेट बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराई समावेशी बजेट निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले कानुन अभावमा यी समस्या नदेखिएको भन्दै बनेका कानुन कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो ।
प्रदेशसभा सदस्य एवम् कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आफूसँग भएका क्षमताको प्रयोग गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै सरकारले ल्याउने नीति कार्यक्रम र बजेटलाई समावेशी बनाएर कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि बजेट कार्यान्वयनमा ठूलो समस्या देखिएको उल्लेख गर्नुभयो ।
अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रका अध्यक्ष विष्णु भट्टराइले सबै समुदाय र वर्गको समान सहभागिताका लागि नीति तथा कार्यक्रम बनाउँदा सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गता समन्वय समितिलाई थप प्रभावकारी बनाउँदै लैजानेगरी तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा वीरेन्द्रनगर अपाङ्गता समन्वय समिति पदाधिकारीसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारीको सहभागिता छ । तालिम भोलिसम्म सञ्चालन हुनेछ
–––
गिरोहद्वारा सञ्चालित ट्रेनिङ सेन्टरमा एक हजार राहदानी फेला
राष्ट्रिय समाचार समिति ९रासस०
काठमाडौँ, १९ पुस ः प्रहरीले काठमाडौँमा एउटा ट्रेनिङ सेन्टरबाट मात्रै झण्डै एक हजार राहदानी बरामद गरेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले उक्त सङ्ख्यामा राहदानी बरामद गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विदेशमा आकर्षक रोजगारीका नाममा ठगी गरेको सूचनाका आधारमा सी स्टार ट्रेनिङ सेन्टरमा खानतलासी गर्दा नौ सय ९७ राहदान फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नेभयो, “पीडितबाट रकम असुलेर फरार भएका गिरोहले उक्त सेन्टरमा झण्डै एक हजार राहदानी राखेको भेटियो । यस विषयमा थप अनुसन्धान जारी छ ।”
यसअघि पक्राउ परेका ललितपुर निवासी ४७ वर्षीय लालबहादुर लामासँगको बयानपछि प्रहरीले उक्त सेन्टरमा छापा मारेर नौ सय ९७ राहदानी फेला पारेको रेग्मीले बताउनुभयो । लामाले काठमाडौँ महाराजगञ्जमा उक्त ट्रेनिङ सेन्टर सञ्चालन गरेका थिए ।
पीडितलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत मुलुकमा आकर्षक तलबको लोभ देखाएर पैसा असुल्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ । सोही क्रममा लामाले मानिसबाट राहदानी सङ्कलन गरेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म पीडितहरूबाट रु १० करोड रकम ठगी गरी लामा फरार भएका थिए । लामालाई काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
लामाले पीडितहरूबाट रु पाँच लाखदेखि १५ लाखसम्म लिनुका साथै कतिपयलाई वैदेशिक रोजगारमा पठाउन नसकेको पनि पाइएको छ । कतिपय व्यक्ति सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार सेन्टरबाट पीडित भएकाहरुले दिएको उजुरीपछि उक्त घटना बाहिर आएको हो ।









