भूकम्प प्रभावित जिल्लामा दुइ चरणमा टाइफाइडविरुद्धको खोप

जाजरकोट ः भूकम्प प्रभावित जिल्लाहरुमा दुइ चरणमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम , सल्यान, सुर्खेत, दैलेख, कालीकोट र जुम्लामा खोप अभियान हुने छ । भूकम्प प्रभावित क्षेत्रमा टाइफाइड, निमोनिया, दादुरा–रुबेलालगायत अन्य सरुवा रोगको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान आवश्यक भएको स्वास्थ्य सेवा कार्यालय ,जाजरकोटले जनाएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा खोप अभिायन सञ्चालन हुन लागेको हो । २०७८ सालमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइएको थियो । अहिले १६ देखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडविरुद्वको टीसीभी खोप दिइने छ । त्यसका लागि दुई चरणमा खोप लगाउने समय निर्धारण गरिएको छ । पुस १२ देखि १५ गतेसम्म पहिलो चरण र पुस २१ देखि २४ गतेसम्म दोस्रो चरणमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।





error: Content is protected !!