शिवालय गाउँपालिकाले चलायो फोहोर उठाउने अभियान
जाजरकोट ः जाजरकोटको शिवालय गाउँपालिकाले आजदेखि फोहोर उठाउने अभियान चलाएको छ । बजारमा सृजित फोहोरबाट जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरि र विभिन्न रोगबाट जनस्तरमा असर नपरोस् भन्ने उद्देश्यले पालिकाले उक्त अभियान चलाएको हो ।
फोहोर व्यवस्थापन कार्य प्रभावकारी बनाउनका लागि गाउँपालिकाले बुधवारबाट उक्त अभियान थालेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेलतले जानकारी दिए । उनकाअनुसार पालिकाले प्रत्येक हप्ता बजार क्षेत्रको फोहोर उठाउन पालिकाबाट व्ययभार हुने गरि गाडीको व्यवस्थापन समेत गरिने छ ।
बजारमा सृजित हुने फोहारको संकलन तथा व्यवस्थापनको लागि प्रति व्यवसायीलाई सूचित हुने गरि पालिकाले तत्काल परिपत्र समेत गर्ने उनको भनाइ छ । बुधवार मात्रै गाउँपालिकाले गत मंसिर २७ देखि ३० गतेसम्म लागेको कृषि मेलाबाट संकलित भएको फोहोरमैलाको समेत व्यवस्थापन गरेको छ ।
शिवालय गाउँपालिका र बजार व्यबस्थापन समितिको संयुक्त पहलमा उक्त फोहोरको व्यवस्थापन गरिएको अधिकृत बस्नेतले जानकारी दिए । पालिका अन्तर्गतका जनप्रतिनिधिसहित कर्मचारीहरु तथा बजार व्यवस्थापन समितिका सदस्यहरुको संयुक्त पहलमा पालिकाको स्काभेटर प्रयोग गरि फोहोर विसर्जन गरिएको उनको भनाइ छ ।