मङ्सिरभित्र अस्थायी टहरा निर्माण गरिसक्न मन्त्री शर्माको आग्रह

जाजरकोट, १७ मङ्सिर ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर महिनाभित्र भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्न आग्रह गर्नुभएको छ । जाजरकोटको नलगाड नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीसङ्ग छलफल गर्दै मन्त्री शर्माले सो आग्रह गर्नुभएको हो ।
पुसदेखि चिसो बढ्ने भएकाले मङ्सिर महिनाभित्र नै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने उहाँको भनाइ छ । भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । अस्थायी टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार रकम निकासा गर्ने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले गत मन्त्रीपरिषद् बैठकबाट जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएको उहाँले बताउनुभयो ।
अब टहरा निर्माणले गति लिनुपर्छ उहाँले भन्नुभयो । जिल्लाको मौजुदा सुरक्षाकर्मीको जनशक्ति कम भएमा थप जनशक्ति माग गर्ने अधिकार पनि जिल्ला सुरक्षा समितिलाई दिएको उहाँले जानकारी दिनुभयो । २०७२ सालको भूकम्पको पुनर्निर्माणमा देखिएको समस्याबाट सिकेर पुनर्निर्माणलाई सहज बनाउन अहिले सरकारले नयाँ कार्यविधि निर्माण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिनेगरी नीति पारित भएको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले विभिन्न दलहरूले टहरा निर्माणमा स्वयंसेवक परिचालन गर्नु राम्रो भए पनि निर्माणका काममा दक्ष जनशक्ति आवश्यकता पर्ने भएकाले स्वयंसेवक परिचालन गर्दा यसमा ख्याल गर्न सुझाव दिनुभयो ।
भूकम्पले पीडा दिए पनि यो जनताको सेवा गर्ने तीनै तहको सरकारका लागि अवसर भएको उल्लेख गर्दै तीनै तहका सरकारले यो अवसरको भरपुर उपयोग गरेर बिपद्लाई अवसरमा बदल्न आग्रह गर्नुभयो ।
हिलेको प्रमुख दायित्व नागरिकलाई छानामुनि ल्याउनु रहेको उल्लेख गर्दै उहाँले उद्धार र उपचारमा जस्तै पुनर्निर्माण र पुनः स्थापनामा पनि नेतृत्व लिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पको बिपद् सामना गर्न स्थानीय तहले लिएको सफल नेतृत्वले नेपालमा सङ्घीयताको औचित्य थप पुष्टि भएको पनि बताउनुभयो ।
यसैबिच आइतबार नै मन्त्री शर्माले रुकुमको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका जनप्रतिनिधिसित पनि छलफल गर्नुभयो । सो क्रममा जनप्रतिनिधिले जनताको आवश्यकताको प्रकृति फेरिएकाले अब अस्थायी टहरासङ्गै शौचालय, खानेपानी, सरसफाइ, वैकल्पिक ऊर्जा, टेलिफोन सेवा सुधारमा जोड दिन मन्त्री शर्मालाई आग्रह गरेका थिए ।
मन्त्री शर्मा आइतबार नै सानीभेरी र आठबीसकोट्का क्षतिग्रस्त बस्तीमा पुगेर क्षतिग्रस्त संरचना, अस्थायी टहरा निर्माण तथा सुत्केरी र बालबालिकाको अवस्था निरीक्षण गर्नुभएको थियो ।



