‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’

जुम्ला, १४ मङ्सिर ः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।

उहाँले विशेष गरी जुम्ला आउने छोटो मार्गबाट कसरी ट्रान्समिसन लाइन जुम्ला ल्याउने भन्ने विषयमा जोड दिइएको बताउनुभयो । उहाँले अहिले जुम्लामा कालीकोटबाट जोडिएको ३३ केभीबाट ११ केभी लाइन जोडिएको तर भरपुर नभएको अवस्थामा अब जुम्ला पुर्याउन छोटो बाटो दैलेखबाट १३२ केभी लाइन नै ल्याएर कर्णाली उज्यालो अभियानमा जोड दिइने जनाउनुभयो ।

उहाँले भविष्यका लागि कर्णाली ऊर्जा इकोनोमिक कोरिडोर बन्ने योजनाका साथ १३२ केभी यहाँको भविष्यसँग जोडिने योजना भएको बताउनुभयो ।

यस क्षेत्रमा विद्युत्ले उज्यालो बनाउने मात्रै नभई यहाँको आर्थिक समृद्धिमा सघाउ पुग्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले विद्युत्ले सिँचाइ, स्याउसहितका कृषि वस्तुमा जोड दिन सघाउने बताउनुभयो । उहाँले सरासर काम भएमा दुई/तीन वर्षमा दैलेखदेखि जुम्ला आइपुग्ने दाबी पनि गर्नुभयो ।

जुम्लामा घिसिङसहित वैकल्पिक ऊर्जाका प्रबन्धक नारायण अधिकारी, दातृ निकाय एडिबीका पुष्कर मानन्धर, नर्वेजियन राजदूतावासका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण कर्णालीका प्रमुखसहितको टोली आएको थियो ।

कर्णालीमा विद्युतीकरण

जुम्लामा अहिलेको अवस्थामा जुम्लामा ५० प्रतिशतमा बिजुली पुगेको छ । जुम्लाबाट फुकोट कर्णालीको ४०० मेगावाटको विषय पनि जोड्ने योजना रहेको छ ।

प्राधिकरणका अनुसार दैलेखपछि कालीकोटको राँचुली, जुम्लाको श्रीढुस्कामा सबस्टेसन स्थापना गरी सेवा प्रवाह गरिने छ । यसका साथै जुम्लाको चुकेनी, गिरी खोला, ठिन्केलगायतका साना हाइड्रो पावर पनि एकीकृत गरिने बताउनुभयो ।

प्राधिकरणले प्रस्तुत गरेको प्रतिवेदनमा प्रसारण लाइन तथा विस्तृत सर्भे डिजाइन, बोलपत्रसम्बन्धी कागजातको तयारी, वातावरणीय परीक्षण तयारीको प्रतिवेदन, दैलेख सबस्टेसनको जग्गा प्राप्ति भई मुआब्जा वितरणको चरणमा रहेको छ । यस्तै आगामी कार्ययोजनामा दैलेख–जुम्ला १३२ केभी विद्युत्का लागि बोलपत्र आह्वान गरिने, प्रसारण लाइनका लागि वन तथा जग्गाको स्वीकृति, मालसामान आपूर्ति तथा जडान रहेको छ । स्रोत ः गोरखापत्र





error: Content is protected !!