हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला ः नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बिओपी ) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले यारी नाका भन्सार कार्यालयमा ताला लगाएर कर्मचारी हिँडेको बताए । कार्यालय प्रमुख राजराज जैसी कामले जिल्ला बाहिर गएको र उहाँसँगै कार्यालय सहयोगी समेत हिँडेको कारण कार्यालयमा ताला लगाइएको हो ।

ताक्लाकोटबाट सामान आउने कार्य भने जारी रहेको छ । सामान आउने क्रम हिमपात नभएसम्मका लागि जारी रहनेछ । उनले ताक्लाकोटबाट आउने सामानको लिस्ट बनाउने कार्य सशस्त्र प्रहरीले गरी रहेको बताउँदै त्यो लिस्ट म्यासेन्जरमा भन्सार कार्यालयका कर्मचारीलाई पठाउने गरेको बताए ।

कर्मचारीले राजस्व काटेको रसिद आफ्नो म्यासेन्जरमा आएपछि मात्र सामान छोड्ने गरिएको उनले बताए। यसअघि कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पूर्ति नभएको कारण राजस्व असुलीमा समस्या भई रहेको कार्यालयले जनाएको थियो ।





error: Content is protected !!