वन ऐन संशोधनपछि ठूलो क्रान्ति हुनेछ ः प्रधानमन्त्री

काठमाडौं, ११ मङ्सिर ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधान गर्न एक हप्ताभित्रै ऐन संशोधन गर्ने बताउनुभएको छ । उहाँले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विचार पनि व्यक्त गर्नुभयो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एक हप्ताभित्र सुकुम्बासी समस्या समाधान गर्ने गरी पुराना ऐनहरु संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले सुकुम्बासी स्ववासी, अव्यवस्थित बसोवासी र उनीहरुको समस्या समाधान गर्न ऐन नै संशोधन गर्ने बताउनु भयो । प्रधानमन्त्रीले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरु संशोधन गर्ने पनि बताउनुभयो । उहाँले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हिजो एउटा ठूलो कुरा गरिएको छ । एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नका लागि ऐन संशोधन गर्ने निर्णय गरिएको छ । हेर्नुहोला गरिन्छ । सुकुम्वासी स्ववासी, अव्यवस्थित बसोवासी, उनीहरुको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको छ । कतिपय २०२९ सालका ऐनर छन् । त्यसले सब रोकेर बसेको छ । मान्छे मरे पनि रुख काट्न नपाइने । स्कुलको अघि एउटा रुख रहेछ, त्यो रुख वनमा परेको रहेछ । वनको नाममा रहेछ त्यो रुख । त्यो रुख ढलेर एउटा विद्यार्थी म¥यो, तर त्यो रुख काट्न वनले अनुमति दिएन, स्कुलको कम्पाउण्डमा । भनेपछि हाम्रा ऐन कस्ता खालका छन् । विकास, निर्माण, जनताभन्दा पनि अरु नै केही कुरालाई महत्व दिनेछन् ।
त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौँ । त्यो ऐन संशोधन पछि लालपूर्जा वितरण गर्ने काम वा वनले रोकेका विकास निर्माणका काम सबै खुल्छन् । त्यो खुल्ने बित्तिकै एउटा ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ । तर यसको निम्ति सबैले आफ्नो ठाउँबाट वातावरण बनाउनुपर्छ ।’’ प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट अहिलेसम्म राम्रा कामहरु भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताउनु भयो । स्रोत ः गोरखापत्र











