टहरो बन्यो, छानो छैन

रुकुमपश्चिम, १० मङ्सिर ः जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।

बिदापछि विद्यालय खुलेको एक साता बितिसक्दा पनि भूकम्प प्रभावित अधिकांश विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण हुन सकेका छैनन् । त्योभन्दा पनि विडम्बनाको अवस्था प्रतिबद्धता अनुसारको सामग्री नपाउँदा जसोतसो बनाइएका टहरामा बाँसका खम्बा र डाँडाभाटा मात्र छन् । विद्यार्थी खुला चउरमा बसेर फर्कन बाध्य छन् र

भवन भत्किएका र चर्किएका विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाउने स्थानीय सरकारको निर्णय पूर्ण कार्यान्वयन नहुँदा बालबालिकाको पढाइ प्रभावित भएको हो । आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण हुन नसक्दा विद्यार्थी चौरमै बसेर फर्कने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले अस्थायी सिकाइ केन्द्र निर्माणका लागि आवश्यक सामग्री दिने आश्वासन दिएका दाता संस्थाले हालसम्म पनि त्रिपाल, प्लास्टिक लगायतका सामग्री नदिएको गुनासो गर्नुभयो । कात्तिक २८ गते नै सामग्री दिने वचन दिएका सहयोगी निकायबाट समयमै अस्थायी सिकाइ केन्द्र निर्माणका लागि सामग्री नपाएको उहाँको गुनासो छ ।

प्रअ थापाले भन्नुभयो, “गाउँलेलाई बोलाएर स्थानीय सामग्रीको जोहो गरेर टहरा त बनाएका छौँ तर टहरामाथि लगाउने र बिछ्याउने सामग्रीहरू कहीँ कतैबाट पाएका छैनौँ ।”

आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले अस्थायी सिकाइ केन्द्र निर्माणमा ढिलाइ भइरहेको स्वीकार गर्नुभयो । “आठबिसकोेटमा मात्रै १३९ अस्थायी सिकाइ केन्द्र बनाउने हो,” विष्टले भन्नुभयो, “तर शनिबारसम्म पाँच विद्यालयमा १७ वटा मात्र अस्थायी सिकाइ केन्द्र तयार भएका छन् । अझै १२२ वटा बनाउन बाँकी छ ।”

भूकम्पले क्षति पुगेका विद्यालयमा खुला चौरमै पढाइ भइरहेको उहाँले जानकारी दिनुभयो । आठबिसकोटका ६४ विद्यालयमध्ये ५३ वटा विद्यालय, २५२ कक्षा कोठा र ७६ वटा शौचालय भूकम्पले प्रभावित बनेका छन् ।

भूकम्पले प्रभावित सानीभेरी गाउँपालिकाका सबै विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण भएका छैनन् । सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भूपाल सिंह विष्टले अस्थायी सिकाइ केन्द्रका लागि संरचना निर्माणको काम सबै विद्यालयमा पूरा भएको र केही विद्यालयमा त्रिपाललगायतका सामग्री पुग्न नसकेको बताउनुभयो ।

सानीभेरी गाउँपालिकामा रहेका ४९ वटा विद्यालयमध्ये ३२ वटामा क्षति पुगेको छ । ७४ वटा अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गरिने तयारी रहेको विष्टले बताउनुभयो । दुई, तीन दिनभित्रै सबै विद्यालयमा अस्थायी सिकाइ केन्द्र भइसक्ने उहाँले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमका कार्यालय प्रमुख ताराप्रसाद पुनका अनुसार रुकुमपश्चिमका २८८ वटा सामुदायिक र २० वटा निजी विद्यालयमध्ये ५२ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् भने ७० वटा उच्च जोखिममा छन् । यसबाट ५६७ वटा कक्षा कोठामा क्षति पुगेको छ भने ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको तथ्याङ्क एकाइ कार्यालयमा छ । स्रोत ः गोरखापत्र





error: Content is protected !!