भूकम्प प्रभावित जिल्लामा नमुना सेवा बनाउन प्रवन्ध निर्देशक जाजरकोटमा

जाजरकोट ः नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व जाजरकोट पुगेको छ । आज प्रवन्ध निर्देशक संगिता पहाडी अर्यालको नेतृत्वमा आएको नेपाल टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटघाट गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । टेलिकमले नमूना सेवा दिने जिल्लाको सूचि सार्वजनिक गरेको छोटो समयमै निर्देशक पहाडी जाजरकोट पुग्नुभएको हो ।

जसअनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका छन् । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु मागबमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न थालेको टेलिकमकी निर्देशक पहाडीले बताउनुभयो । जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा संभव भएसम्म उपलब्ध गराउने जानकारी उहाँले दिनुभएको छ ।

हाल सेवाका दृष्टिबाट नमूनाको रुपमा कायम गरिने जिल्लाहरुमा आवश्यकताबमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स तथा सेवाहरु कायम हुने गरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ । यी जिल्लाहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले संभव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने उहाँले बताउनुभयो ।

जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजनासमेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने उहाँको भनाई छ ।

भूकम्पबाट पीडित बनेको जाजरकोटबाटै नमुना सेवा प्रवाह गर्ने कार्य सुरु गरिएको निर्देशक पहाडीले बताउनुभयो । आइतबार भेरी नगरपालिका , नलगाड नगरपालिका , बारेकोट गाउँपालिका र आठबीसकोट नगरपालिका भित्र रहेका टावरहरुको अबलोकनका साथै पालिकाका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको पहाडीले जानकारी दिनुभयो । उक्त नमुना सेवा सुचारु कार्यक्रममा उर्जा ,जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी हुनुभएको छ ।





error: Content is protected !!