टी-२० सिरिजमा नेपालको यूएईमाथी फराकीलो जीत
काठमाडौं ः घरेलु टोली नेपालले त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा कप्तान रोहित पौडेलको अर्धशतकीय पारीको मद्दतबाट यूएईलाई ७ विकेटले पराजित गरेको छ।
मूलपानीस्थित क्रिकेट ग्राउन्डमा भएको खेलमा दोश्रो ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १४१ रनको विजयी लक्ष्य भेट्टाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ५१ रन बनाए। ४० बल खेलेका उनले चौका प्रहार गर्दै नेपाललाई ७ विकेटले विजय दिलाए।
कप्तान पौडेललाई अर्को छेउबाट दह्रो साथ दिएका दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २३ बलमा १ छक्का र ३ चौकाको सहायताले ३४ रन बनाए।
नेपालका लागि ओपनर आसिफ शेख २७ बलमा २३ रन बनाएर आउट भए भने अर्का ओपनर कुशल भूर्तेल १४ बलमा १४ रन बनाएर आउट भए।
त्यसपछि क्रिजमा आएका कुशल मल्ल ९ बल खेलेर ११ रन स्कोर गरेका वेला अली नासेरबाट रन आउट भए।
त्यसपछि नेपाली पालीको बागडोर कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै नेपाललाई विजयी बनाए।
यूएईका लागि निलांश केसवानी र अली नासेरले १/१ विकेट लिएका छन्।
पहिले ब्याटिङ गरेको पाहुना यूएईले नेपालसामु जितका लागि १४१ रनको लक्ष्य दिएको थियो।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको थियो।
युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको योगदान गरे। अली नासिरले ३२ रन जोड्दा कप्तान मोहम्मद वासीम १७ रनमा पेभेलियन फर्किए। आशिफ खान १५ तथा अलिशान शराफु ६ रनमा आउट हुँदा खालिद शाहले खाता नै खोल्न सकेनन्।
नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा गुल्सन झाले २ विकेट लिए। सोमपाल कामी र अविनाश बोहराले १/१ विकेट लिए।
आजको खेलबाट लेग स्पिनर श्याम ढकाल (मौसम) ले राष्ट्रिय टोलीबाट टी-२० अन्तरराष्ट्रियमा डेब्यू गरेका छन्।
त्रिकोणात्मक सिरिजमा नेपालसहित युएई र हङकङ सहभागी छन्।