दसैंमा नेपाल एयरलाइन्सको कर्णालीका हिमाली जिल्लामा नियमित उडान

बाँके ः दसैंमा यात्रुको चापलाई ध्यानमा राखेर नेपाल एयरलाइन्सले नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ । आउँदो मंगलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले जानकारी दिए ।

‘दसैंमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएका छौं,’ उनले भने, ‘आउँदो मंगलबारदेखि चाररपाँच दिन नेपालगन्जबाट दैनिक उडान हुनेछ ।’

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मंगलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान हुनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मंगलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ ।
नेपालीहरूका महान् पर्व दसैं, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि हिमाली जिल्लामा नियमित उडान गर्ने तयारी गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाईन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको बताइएको छ । यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा रहेको छ ।

यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो । तर अहिले दसैंलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ ।

निजी एयरलाइन्सहरू समेत नेपालगन्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडबाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन् ।

निजी एयरलाइन्सले पर्यटकीय सिजन सुरु भएकाले आफ्ना जहाजहरूलाई पूर्वी क्षेत्रमा पठाएका छन् ।

हवाई टिकट पाउनै समस्या

दसैँ नजिकिँदै गर्दा सिमकोटबाट नेपालगन्ज जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगन्ज जाने टिकट नपाएर यहीँ बस्नुपरेको बताइन् । उनले ११ दिनदेखि नेपालगन्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् ।

दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि परियारले टिकट सकिएको जवाफमात्र पाउने गरेकी छिन् ।

नेपालगन्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले मात्र दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।





error: Content is protected !!