सम्भाव्यता अध्ययनको मिति पुरा हुनै लाग्दा प्रगती निरासाजनक

हेमन्त केसी
सुर्खेत, २५ असोज ः तोकिएको मिति भित्र सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम पुरा हुनुपर्ने भएपनि जाजरकोट –जुम्ला सुरुङमार्गको अध्ययन निरासाजनक रहेको छ ।

२०८० जेठ महिनामा प्रि–फिजिविलिटीको अध्ययनका लागि सडक विभागले इटीको–टि.एम.एस–रेज जेभीसँग अध्ययन सम्झौता गरेको थियो । सम्झौता अनुसार असोज महिना भित्र काम पुरा गरि प्रतिबेदन उपलब्ध गराइसक्नुपर्ने थियो । प्रस्तावित मार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने योजना बनाएको छ । अहिले चालु रहेको सडक भन्दा यो सडकमा यात्रा गर्दा झण्डै ७ घण्टा छिटो हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

यो सुरुङ मार्ग अध्ययन गर्न २०७८ मा नै योजना अगाडी सारिएको थियो । प्रि–फिजिविलिटीको म्याद सकिने केही दिन बाँकी रहदा सम्म सडक डिभिजन चौरजहारीलाई इटीको–टि.एम.एस–रेज जेभीले सम्पर्क नगरेको सडक डिभिजन चौरजहारीका प्रमुख ई. तेजस्वी शर्माले बताए । सडक विभागबाट भने प्रि–फिजिविलिटी अध्ययनको बारे फोन आएको उनले बताए । प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गर्ने भनिए पनि फिल्डमा पुगेर अध्ययन हुन नसकेको पाइएको छ ।

भूगोल अध्ययन गर्न सुरुमा पहिलो पटक प्राविद्यिक टिम पुगेपनि फेरी अर्को पटक प्रि–फिजिविलिटीको अध्ययन गर्न पहिला नटेकेको कुशे गाउँपालिकाकी उपाध्यक्ष देबीका सिंहले बताइन् । पालिकासँग उक्त जेभीले कुनै पनि सम्पर्क नगरेको भन्दै उपाध्यक्ष सिंहले काममा ढिला सुस्ती भएको बताइन् । गाउँपालिकाको अध्यक्षसँग सम्पर्क गरेको भएपनि आफूलाई जानकारी हुने हो तर अध्यक्षलाई पनि सम्पर्क नगरेको अवस्था छ उनले भनिन् ।

पाँच महिनामा अध्ययनको काम सम्पन्न गरेर अन्य काम अघि बढाउनुपर्ने भएपनि काम हुन नसकेको उनको भनाइ छ । ‘सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त छ–छैन भनेर प्रि–फिजिविलिटी अध्ययनको काम थालिएको हो । फिल्डमा काम हुन सकेको छैन ।’ दुइ महिना अघि सम्म सडक नहुँदा काम गर्न मुस्किल भएको बताउदै जेभीले अहिले कामको प्रगतीका विषयमा सम्पर्क गर्न खोज्दा फोन नउठाउने गरेको छ । हामीले प्रि–फिजिविलिटीको प्रगतीका विषयमा प्रगती लिन पटक ,पटक सम्पर्क गरेपनि उक्त जेभीले सम्पर्कमा आउन चाहेन ।

काठमाडौँमा बसेर कागजी काम गरेको जेभीले फिल्डमा पाइला नै नटेकेर के काम गरिरहेको छ भन्ने लागेको सरोकारवालाको भनाई छ । प्राविधिकको टोलिले सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गर्नुपर्ने कामहरु रहेका छन् । सम्झौता अनुसार यहि असोजमा अध्ययनको काम सक्नुपर्ने हो । तर अहिले सम्म फिल्ड अध्ययनको काम हुन सकेको छैन । सुरुङमार्ग निर्माणको अध्ययनमा आलटाल भइरहेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

उनका अनुसार सम्झौता भएको पाँच महिनामा प्रि–फिजिविलिटी अध्ययनको काम सकेर अन्य कामको थालनि हुने भनिएको थियो । तोकिएको समयमा काम हुन सकेको छैन । हालसम्म अध्ययनकै काम सकिएको छैन । यो आयोजनालाई अगाडि बढाउनुपर्छ भनेर हामी लागि परेका छौँ ।’ विविध कारण देखाउँदै सुरुङमार्गको अध्ययनमै अलमल भइरहेको छ । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ ।

दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ । काठमाडौँ बसेर अधिकांश काम गर्ने चलनका कारण कालान्तरमा गएर योजना स्थलमा काम गर्दा स्टामेट नमिलेका घटनाहरु धेरै भएका कारण समस्य हुने गरेको छ । अहिले लुम्बिनी – रारा सडक खण्डको अन्तरर्गत खलंगा पाँचकाटिया हुँदै सुरुङ मार्ग सम्मको सडक निर्माण कार्य जारी रहेको छ । फिल्डकामा काम गर्न नआउने तर अनेक बहाना गर्ने निर्माण कम्पनीका कारण यहाँको विकास निर्माणमा बाधा पुग्दै आएको छ ।





error: Content is protected !!