१-१ गोलको बराबरीमा नेपाल र लाओस

काठमाडौँ ः फिफा विश्वकप छनोट फुटबलअन्तर्गतको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन्। आज दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो।
खेलको ३२ औं मिनेटमा गोल गर्दै कप्तान बोनफाचन बौकोङले लाओसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछाडि रहेको नेपालले ४७ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो।
अन्जन विष्टले हेडमार्फत कीर्तिमानी गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएको हो। यससँगै फरवार्ड विष्टले अन्तरराष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान बराबर गरेका छन्। राष्ट्रिय फुटबल टिमबाट हरि खड्का र निराजन रायमाझीले राखेको १३ गोलको कीर्तिमानलाई अन्जनले बराबरी गरेका हुन्।
नेपाल र लाओसबीचको प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रंगशालामै पुगेका थिए। नेपालको पहिलो चरणको दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुनेछ।
गृहमैदानमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसकै मैदानमा हराउनुपर्ने दबाव छ। फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा छ भने लाओस १८६ औँ स्थानमा छ।









