मेयरले अलपत्र पारेको पुलको ठाउँमा मन्त्रीको पहलमा बेलिब्रिज बन्दै
हेमन्त केसी
सुर्खेत ः २०७२ सालमा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले निर्माण सुरु गरेको पुल निर्माण नभएपछि उक्त ठाउँमा बेलिब्रिज निर्माण लागिएको छ । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा बेलिब्रिज पुल बन्ने भएको हो ।
खड्का कृष्ण कन्सट्रक्सन प्रालिले नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको मुख्यमार्गको रुपमा रहेको नलगाड नदीको खारामा पक्की पुल निर्माण जिम्मेवारी लिएका थिए । झण्डै ७ वर्ष सम्म पुल निर्माण गर्नका लागि कुनै प्रगती नभएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकास ज्वालालाई आग्रह गरेपछि खारामा बेलिब्रिज पुल बन्न लागेको हो । उक्त ठाउँमा पुल निर्माणका लागि एक ठाउँमा पिल्लर उठाएको छ ।
जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेपछि बैकल्पिक रुपमा पश्चिम जाजरकोट हुँदै जुम्ला जाने बाटोलाई निरन्तरता दिन यो पहल गरिएको मन्त्री बस्नेतले बताए । खड्का पुल निर्माण गर्नु सट्टा अदालतमा गई नलगाड जलविद्युत आयोजना बिरुद्ध उजुरी दिएका छन् । खड्काको कम्पनीले साढे ३ करोडमा पुल निर्माण गर्ने ठेक्का पाएको भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँच मार्गले जुम्लासँग सडक जोड्छ।
यो पुल नबन्दा नलगाड नदीमा परेर धेरैको मृत्यु भएको स्थानीय रामबहादुर खत्रीले बताए। ‘पुल निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौँ , नलगाड नदीमा काठको लाप्को बनाएर सवारीसाधन तार्दा जोखिम हुन्छ’, उनले भने, ‘काठे पुलबाट ओहोरदोर गर्न पनि चर्को मूल्य बुझाउनुपर्छ।’
पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारीसाधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारी साधन साधुतरामा रोकिने गरेका छन्। नलगाड जलविद्युत आयोजनामा फिल्ड इन्जिनियर पदम थापाका अनुसार पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुइ पिलर उठाइएको छ। पिलर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिलर निर्माण गर्न आग्रह गरिएको थियो। ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिलर हालेपछि रकम भुक्तानी रोकिएको छ।
पुल निर्माणका लागि पिलरको गुणस्तर जाँच गरेर मात्र काम सुरु गर्नुपर्ने वा नयाँ पिलर निर्माण गर्नुपर्ने विकल्प ठेकेदार कम्पनीसँग छ। खड्का कृष्ण कन्सट्रक्सन प्रालिका अध्यक्ष खड्का आफूले निर्माण गरेका पिलरलाई नै सदर गर्नुपर्ने भन्दै शक्ति केन्द्र धाएर केही नलागेपछि अहिले अदालत पुगेका छन् । खड्काले कामको गुणस्तर जाँच गर्नका लागि अदालतमा उजुरी दिएका छन् । अदालतमा उजुरी दिएपनि यसको अन्तिम छिनोफाँनो कहिले हुन्छ कुनै अत्तोपत्तो नभएको इन्जिनियर थापाले बताए । गुणस्तर काम हुनुपर्ने माग गर्ने आयोजना र अहिले भएको कामलाई नै सदर गर्नुपर्ने निर्माण व्यवसायीको दोहोरो अडानका कारण पुल निर्माणको काम तत्काल नहुने देखिन्छ ।
नगरप्रमुख खड्का आफूले गरेको काम जसरी पनि सदर गराउने पक्षमा छन्। त्यस्तै नगरप्रमुख रहेकै पालिकाको प्रशासकीय केन्द्र रहेको मनघाटमा जानका लागि समेत मन्त्री बस्नेतकै पहलमा बेलिब्रिज निर्माण हुन लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक विभागमा लेखिएको पत्रमा मन्त्री बस्नेतकै सिफारिसमा भनि उल्लेख गरिएको छ ।
त्यस्तै पुल महाशाखामा समेत सोही व्यहोराको पत्र पत्राचार गरिएको छ । पत्रमा भनिएको छ , ‘छेडागाड ,मनघाट बेलिब्रिज छेडागाड नगरपालिका –४ र १२ जोड्ने पुल तत्काल काम सुरु गर्नु ।’ पटक ,पटक मेयर खड्काले आफ्नै नगरपालिकाको पुल निर्माणका लागि पत्राचार गरेपनि सुनुवाइ नभएपछि मन्त्री बस्नेतलाई गुहार्नु परेको उपमेयर चन्द्रबहादुर थापाले बताए । खारा पुलका विषयमा पटक पटक समाचार समेत प्रकाशित भएको थियो । त्यस्तै बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले ज्ञापन पत्र बुझाएर पुलको समस्यका बारेमा जानकारी गराएका थिए ।