नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी
काठमाडौं ः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबार पहाडी प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको नियुक्तपत्रमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक रहेका सुनिल पौडेल निलम्बनमा परेका छन् । अब अदालतबाट फैसला नआइन्जेल टेलिकमको नेतृत्व पहाडीले गर्नेछिन् ।
पहाडी टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायव प्रबन्ध निर्देशक) थिइन् । भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ १टेक्नोलोजीबाट एमई गरेकी छिन् । तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१मा स्थायी नियुक्ति लिएकी थिइन् ।
१८ माघ २०७८ मा नायव प्रबन्ध निर्देशक भएकी उनी दुई पटक कम्पनीको प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी थिइन् । यसअघि सुनिल पौडेल प्रबन्धक निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो ।
उनीसँगै एकै दिनमा १० जना नायव प्रबन्ध निर्देशकमा बढुवा भएका थिए ।