सुनथराली , मसिनेचौर विमानस्थलमा परीक्षण उडान असोज २४ गते

जाजरकोट , १६ असोज ः परीक्षण उडानका लागि दुइ पटक म्याद गुजारेको कर्णालीका दुइ विमानस्थलको फेरी नयाँ मिति तोकिएको छ । कालिकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भदौ १३ , असोज १३ गरेर तोकिएका दुइवटा मितिले भाका नाघेपनि अब नयाँ मिति असोज २४ गते जुरेको पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए ।

कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिमाको मसिनेचौरमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।
डोल्पाबाट प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री बीरबहादुर शाहीले पर्यटनमन्त्रीसँग आफ्नो कुरा भइरहेको भन्दै असोज २४ गते परीक्षण उडान हुने बताए । कर्णालीका लागि विशेष बोल्ड निर्णय समेत हुने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । जहाज अभाव र प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि, दाहाल देश बाहिर रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको मन्त्रालयले जानकारी दिएको छ । नरहरीनाथ गाउँपालिका वडा नं. १ मा रहेको उक्त विमानस्थल रहेको छ ।





error: Content is protected !!